२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपामा अध्यक्षद्वयका शृंखलाबद्ध वार्तामा पनि समस्याको गाँठो फुकेन


13
Shares

यज्ञराज पाण्डे (इमेज)

काठमाडौं, असार ३० । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक शक्ति–संघर्ष मत्थर पार्ने प्रयासमा भइरहेका वार्तामा सहमति जुट्न नसक्दा विवाद पेचिलै छ ।

अध्यक्षद्वयका शृंखलाबद्ध ‘वन टु वान’ वार्तामा पनि सहमतिको सूत्र पहिल्याउन नसक्दा विवादको टुंगो कसरी र कुनरुपमा होला भन्नसक्ने अवस्था अझै देखिँदैन ।

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका बहुमत सदस्यले दुवै पदबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि उत्कर्षमा पुगेको नेकपा विवादलाई सहमतिमा पुर्‍याउने भन्दै स्थायी कमिटी बैठक लगातार स्थगित गर्दै अध्यक्षद्वयमा वार्ताकेन्द्रित गरिएको छ ।

यसअघि, चारपटकसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली–दाहालबीचको छलफलमा सहमति नजुटेपछि छ दिनको अन्तरालपछि मगंलबार ओली–दाहालबीच करिब एक घन्टाको छलफलपनि कुनै निष्कर्षमा पुग्न सकेन ।

छलफलमा ओली आफू प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछोड्ने अडानमा टस न मस नदेखिनु र अर्का अध्यक्ष दाहालको विगतमा भएको सहमतिअनुसार नै ओलीले दुवै पद त्याग्नुपर्ने अडान कायमै छ ।

२०७५ जेठ २ मा ओली र दाहालबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमतिअनुसार ओलीले अब प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाटै राजीनामा दिनुको विकल्प नभएको बताउनुहुन्छ, नेकपा वरिष्ठ नेता झलनाथ खनाल ।

तर, जेठ २ गतेको सहमतिलाई २०७६ मंसिर ४ गतेको सचिवालय बैठकले नै खारेज गरी ओलीले पाँचै वर्ष सरकार चलाउने र दाहालले पार्टी चलाउने सहमति हुँदा–हुँदै व्यक्तिगत ‘इगो’ साँधेर ओलीको राजीनामा माग्दा पार्टी नै दुर्घटनामा जाने चेतावनी दिनुहुन्छ, नेकपा स्थायी समिति सदस्य केशव बडाल ।

फेरिपनि विगतजस्तै पार्टी कमिटी प्रणालीलाई लत्याएर अध्यक्षद्वयमा मात्र केन्द्रित वार्ताबाट विवादलाई तत्कालका लागि मत्थर पारिएपनि कालान्तरमा फेरिपनि विवाद भने बल्झि नै रहने टिप्पणी गर्नुहुन्छ, वाम राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईं ।

पार्टीको विवादका विषयमा अध्यक्षद्वयबाट सहमति नजुटेपनि दाहालले गृहजिल्ला चितवनमा कार्यकर्ता भेला गराएर पार्टी एकताको पक्षमा दिएका अभिव्यक्तिलाई भने अर्थपूर्णरुपमा हेरिएको छ ।

यसबीचमा दाहालले आफूनिकट नेता नेपाल र खनाललगायतसँग निरन्तर छलफल गरिरहनुभएको छ भने ओलीपनि आफूनिकटका नेताहरुसँग भेटघाटमा हुनुहुन्छ ।

तर, यस्ता छलफल र भेटघाटको शृंखलाले नेकपालाई सग्लो पार्टीका रुपमा रहन मद्दत पुर्‍याउला वा पार्टी विभाजनको रेखालाई थप स्पष्ट पार्ला, त्यो भने समयले नै देखाउँदै जानेछ ।

भिडियो हेर्नुहोस्