
रोमन आचार्य, भरत केसी र सानु माली (इमेज)
काठमाडौं, असार ३० । नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि संशोधन गरेर बनाएको कार्यतालिकाअनुसार साउन १० गतेभित्र पार्टी समायोजनका काम सकेर साउन मसान्तभित्र क्रियाशील सदस्यता वितरण तथा नवीकरणको सम्पूर्ण कामलाई अन्तिम रुप दिनुपर्छ ।
तर, प्रदेश नम्बर–२ का लगभग सबै जिल्ला तथा अन्य प्रदेशका केही जिल्लामा पार्टी समायोजनका काम बाँकी रहँदा असार २५ गतेबाट सुरु हुनुपर्ने क्रियाशील सदस्यतासम्बन्धी काम हुनसकेको छैन ।
यसले कांग्रेसको आसन्न महाधिवेशन कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ ।
कांग्रेसले निर्धारित समय फागुन ७ गते १४औं महाधिवेशन उद्घाटन गर्ने हो भने साउन मसान्तभित्र महाधिवेशनको मेरुदण्ड क्रियाशील सदस्यता नवीकरण र वितरण सम्पन्न हुुनपर्छ ।
तर, सदस्यता वितरण त्यस जिल्लामा मात्र सम्भव छ, जहाँ पार्टीको अन्तरिम संरचना समायोजनले पूर्णता पाएको छ ।
केन्द्रले जिल्लाहरुलाई परिपत्र गरेर समायोजन सम्पन्न नभएसम्म क्रियाशील सदस्यतासम्बन्धी काम नगर्न उर्दी जारी गरेको छ । जसको प्रत्यक्ष प्रभाव प्रदेश–२ का अधिकांश जिल्लामा परेको छ ।
किनभने, त्यहाँ साउन १० गतेभित्र पार्टी समायोजनले पूर्णता पाउने स्थिति छैन ।
कांग्रेसमा गुटगत लडाइँ, नेतृत्वको स्वार्थलगायतका कारणले जिल्लाहरुमा समायोजनको कामले गति लिन नसकेको हो ।
पार्टी केन्द्रीय कार्यालय भने तालिकाबमोजिम पार्टी समायोजनको काम सकेर क्रियाशील सदस्यताको कामलाई निचोडमा पुर्याउने दाबीमा छ ।
संरचना समायोजनमात्र कारण होइन, भौगोलिक अवस्था, मौसमी प्रभाव, चाडपर्व तथा कोरोना महामारीलगायतलाई कारण देखाएर महाधिवेशनको कार्यतालिकामा प्रश्न पार्टीभित्रबाटै पनि उठिरहेको छ ।
असन्तुष्ट जिल्ला सभापतिहरु र केन्द्रीय कार्यालयको मत पनि स्पष्टरुपमा बाझिएको छ ।
केन्द्रीय समिति भने तोकिएकै समयमा महाधिवेशन गरेरै छोड्ने दाबी गर्छ ।
नेतृत्वले कार्यकाल लम्ब्याउन चाहे संविधानको छिद्र प्रयोग गरेर छ महिनाको सुविधा पाउनेछ ।
तर, यस्तो नीति नेतृत्वलाईं प्रत्युत्पादक बन्ने अनुमान पनि कांग्रेसीजनमा देखिन्छ । किनभने, विधानबमोजिम नेतृत्वले एक वर्ष कार्यकाल लम्ब्याइसकेको छ ।
त्यसकारण निर्वाचन समितिले पनि समायोजनको कामलाई चाँडै पूर्णता दिएर क्रियाशील सदस्यता वितरणलाई निचोडमा पुर्याउने र महाधिवेशन समयमै गर्नुको विकल्प देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्