१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजेश हमालले भने: दिपाश्रीलाई माफी दिनुहोला


0
Shares

काठमाडौं । महानायक राजेश हमालले सार्वजनिक स्थलमा अभिव्यक्ति राख्दा अरुलाई चोट पुर्‍याउने गरी अभिब्यक्ति नदिन आग्रह गरेका छन् ।

केही दिनअघि कलाकार दिपाश्री निरौलाले ‘महानायक’का विषयमा दिएको अभिब्यक्ति र टिकाटिप्पणीका विषयलाई लक्षित गर्दै हमालले यस्तो आग्रह गरेका हुन ।

मंगलबार राती फेसबुकमार्फत आफ्नो धारणा राख्दै हमालले कलाकार दीपाश्री वा सम्बन्धीत व्यक्तिलाई माफी दिन पनि आग्रह गरेका छन् । हमालले भनेका छन्–‘मानवताका लागि उनलाई माफी दिनुपर्छ ।’

मेरो अनुरोध छ, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला,’ उनले भनेका छन् ।

‘मलाई लक्षित गरेर कसैले आफ्नो भनाई राख्नुभयो। भनाई सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन् । तर यहाँहरुबाट कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु। हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला’, उनले भनेका छन् ।

हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेकोमा उनले दुःख पनि ब्यक्त गरेका छन् ।

तर आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्दै कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिदिन सबै दर्शकहरुको आग्रह समेत गरेका छन्।

उनले भने–‘अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति मात्र प्रकट गरौं ।’

उनले प्रश्न गर्दै भनेका छन्–‘एक्कासी झट्ट प्रतिक्रिया दिँदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि होला र ?’

केही दिनदेखि ‘राजेश हमाल कसरी महानायक ?’ भन्ने बहस चलिरहेका बेला हमालको यस्तो प्रतिक्रिया आएको हो ।

एक टेलिभिजन अन्तरवार्ताका क्रममा दिपाश्रीले राजेश मात्र किन महानायक भए, निर्माता–निर्देशक र अन्य कलाकार किन भएनन् ? भन्ने प्रश्न उठाएकी थिइन ।