
चितवन । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ ।
देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।
समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो वर्ष बोलबम मेला नगर्ने बताउनुभयो ।
“चितवन, नवलपुर र तनहुँको प्रसाशनसँगको छलफलबाट मेला नगर्ने निर्णय गरेका छौँ”, पौडेलले भन्नुभयो, “सबैभन्दा पहिला जीवन बचाउनुपर्छ, त्यसपछि धार्मिक क्रियाकलाप गर्ने हो ।” देवघाटमा करिब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ ।
यो वर्ष साउन ५ गते पहिलो सोमबार परेको छ । “त्यसअघि नै मेला नआउन अपिल गर्दै भक्तजनसम्म सूचना प्रवाह गरिरहेका छौँ”, पौडेलले भन्नुभयो ।
साउने सोमबार दर्शानार्थीको भीड नै लाग्ने गर्दथ्यो । यही असार ७ गते परेको खण्डग्रास सूर्यग्रहणमा समेत देवघाटमा स्नानमा नआउन समितिले सार्वजनिक सूचना नै जारी गर्योे ।
देवघाटमा स्वदेश तथा विदेशबाट स्नानका लागि तीर्थयात्री आउँथे । कोरोना भाइरसको सङ्क्रमण फैलिने जोखिमका कारण देवघाट प्रवेशमा समेत चैतयता निगरानी बढाइएको छ ।
बढीमा २५ जना सामाजिक दूरी कायम गरी तथा स्वास्थ्य सुरक्षासहित दाहसंस्कारमा सहभागी हुन पाइने गरी सार्वजनिक अपिल गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्