
काठमाडौं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ ।
सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए ।
रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो ।
ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको र पिसिआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ ।
कोरोना सङ्क्रमणको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टिनमा राखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताउनुभयो ।
अहिले उनीहरुको परीक्षणको लागि नमूना सङ्कलन भइरहेको छ । परीक्षणपछि काममा लगाइने सम्पदाविज्ञ मानन्धरले बताउनुभयो ।
उहाँले भन्नुभयो–“अहिले धरहराको पुनःनिर्माणको लागि ३५ कामदार नियमित रुपमा लागिरहेका छन् । हालसम्मा ३९ प्रतिशत काम सम्पन्न भएको छ ।”
भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको छ ।
निर्माणको लागि तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ । पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट हुनेछ ।
एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ ।
कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।
नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।रासस
प्रतिक्रिया दिनुहोस्