
विनोदसिंह विष्ट (इमेज)
बैतडी, असार ३१ । बैतडीमा एकजना व्यक्तिले आफ्नै छोरी र एकजना युवकले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ ।
पञ्चेश्वर गाउँपालिका–४ की ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय व्यक्ति पक्राउ परेका हुन् ।
मंगलबार जबर्जस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटक–पटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिनुभयो ।
ती बालिकाकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।
‘श्रीमतीको मृत्यु भइसकेपश्चात् छोरीलाई मादकपदार्थ सेवन गरी पटक–पटक जबर्जस्ती गर्ने गरेको रहेछ’–उहाँले भन्नुभयो–‘मंगलबार पनि जबर्जस्ती गर्न खोजेका बेला छोरी भागेको र सोधपुछ गर्दा बलात्कार गरेको खुल्न आएकोले समातेर प्रहरीलाई बुझाएका हौं ।’
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
आमालाई बलात्कार गरेको आरोपमा पक्राउ
बैतडीकै पुर्चौडी नगरपालिका–१० मा आफ्नै आमालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
६१ वर्षीया आमालाई जबर्जस्ती करणी गरेको आरोपमा उनका ३२ वर्षीय छोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार घरमै जबर्जस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबर्जस्ती करणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा फेलापरेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जैसीले बताउनुभयो ।
आमालाई बलात्कार गरी विषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्