
दीपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, असार ३१ । सरकारले कोरोना महामारीका कारण बन्द रहेको विद्यालयको पठन–पाठन सञ्चालन गर्न सुरु गरेको वैकल्पिक शिक्षण सिकाइको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।
तर, शिक्षा मन्त्रालयले भने नियमितरुपमा पठन–पाठन सुरु नभएसम्म यही माध्यमलाई नै निरन्तरता दिने जनाएको छ ।
असार १ गतेबाट सुरु गरिएको वैकल्पिक शिक्षण सिकाइ रेडियो, टेलिभिजन, अनलाइन तथा अफलाइन प्रभावकारी नभएपछि विद्यालय सञ्चालनको तयारीका सम्बन्धमा विभिन्न कोणबाट छलफल अघि बढाइएको छ ।
सरकारले विद्यालय तहमा वैकल्पिक प्रणालीबाट कक्षा सञ्चालन गरेपनि प्रभावकारी हुन नसकेपछि विद्यालय नै खोल्नुपर्ने स्थितितर्फ छलफलकेन्द्रित हुन थालेको हो ।
शिक्षा तथा मानव स्रोत केन्द्रले नै वैकल्पिक शिक्षा प्रभावकारी नभएको जनाएको छ ।
केन्द्रको तथ्यांकअनुसार नेपालमा १३ प्रतिशत विद्यालयहरुमा मात्र इन्टरनेटमा पहुँच छ । ५५ प्रतिशत घर–परिवारमा इन्टरनेटको पहुँच छ भने ४५ प्रतिशत विद्यार्थी अनलाइन वा अन्य प्रकारका मिडियाको नियमित पहुँचबाट टाढा रहेको अनुमान छ ।
तर, कुनैपनि मिडियाको पहुँचमा नरहेका साढे २३ लाखभन्दा बढी विद्यार्थीका लागि कसरी सिकाइ भइरहेको छ भन्नेमा अहिलेसम्म कुनै विवरण छैन ।
तर, शिक्षा मन्त्रालयले भने नियमित पठन–पाठन प्रभावित भइरहेको अवस्थामा वैकल्पिक शिक्षण सिकाइले शैक्षिक माहोल सिर्जना गरेको दाबी गर्छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले नियमितरुपमा विद्यालय सञ्चालन नभएसम्म वैकल्पिक सिकाइलाई निरन्तरता दिने बताउनुहुन्छ ।
मन्त्रालयले वैकल्पिक शिक्षण सिकाइ सञ्चालनकाक्रममा देखिएका समस्या समाधान गर्नेतर्फ आवश्यक कदम चालिसकेको दाबीसमेत गरेको छ ।
कोरोना महामारीका कारण हाल देशभरका चार हजारभन्दा बढी सामुदायिक विद्यालयहरु ‘क्वारेन्टिन’को रुपमा प्रयोग गरिएका छन् ।
क्वारेन्टिनको रुपमा प्रयोग गरिएका विद्यालयहरुमा तत्काल नियमित पठन–पाठन सम्भव देखिँदैन ।
पठनपाठन नियमित हुनसक्ने स्थिति रहेका विद्यालयमा पनि संक्रमणको जोखिम उत्तिकै रहेको छ ।
यसर्थ, वैकल्पिक सिकाइको पहुँच र प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला यस्ता पक्षलाईसमेत ध्यानमा राखी विद्यार्थीको नियमित पठन–पाठन व्यवस्थित गर्दै लानेतर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्