२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गैरी खेतमा बेठी रोपाइँको रौनक: नाचगान र हिलो छ्यापाछ्याप हेर्नेको भीड


0
Shares

प्रकाश लिम्बु/ईमेज

तेह्रथुम । साउन लागिसकेको छ । किसानहरुलाई खेतमा रोपाईँ गर्न भ्याई नभ्याई छ । तेह्रथुमका किसानहरुलाई पनि रोपाइँ सक्ने चटारो छ ।

रोपाइँ गर्ने अन्तिम महिना भएका कारण किसानहरु बेठी लगाएर खेतको काम सक्ने हतारोमा छन् ।

पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न बेठी परम्परालाई संरक्षण गर्ने प्रयास स्वरुप म्याङलुङ नगरपालिका–३ नाकदहको गैरी खेतमा असारे बेठी लगाईएको छ ।

लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्ने उदेश्यले आफुले बेठी लगाएको म्याङलुङ नगरपालिका–३ नाकदहका किसान नारायण सिंह तामाङले बताउनुभयो ।

दुर्लभ रुपमा रहेको बेठी संस्कृती युवापुस्ताका लागि अत्यन्तै नौलो र रोचक दृश्य बनेको छ । नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहितको बेठी लगाउँदै धान रोपाइँ गरिने दृश्य कमै मात्र देखिन्छ ।

बर्षौंअघिदेखि चल्दै आएको बेठी रोपाइँको चलन अहिले एकादेशको कथाजस्तै भएको छ ।

पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु र त्यहि अनुपातमा बाउसे, रोपाहारहरु अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक शुरु हुन्छ ।

मानव जीवन र हिलो माटोबीचको अन्योन्याश्रित सम्बन्धको प्रतिकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा नौमती बाजा बजाउने र श्रमिकले आ-आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन छ ।

नौमती बाजाको तालमा रौसिँदै जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारहरुले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्छ ।

सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचगानसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिन्छ ।