२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


प्रधानमन्त्रीको अभिव्यक्तिसँगै चर्चामा ठोरी, स्थानीय के भन्छन् ? (भिडियो)


39
Shares

thori ram sita kp oli

अनिल तिवारी (इमेज)

ठोरी, साउन १ । पर्साको दुर्गम गाउँपालिकाको रुपमा रहेको ठोरी अहिले चर्चाको शिखरमा छ ।

राज्यबाट सधैं ओझेलमा पर्दै आएको ठोरीमा भगवान् रामको जन्म भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले नेपालमात्रै होइन, भारतसमेतलाई तरंगित बनाएको छ ।

प्रधानमन्त्री ओलीले पर्साको ठोरीमा भगवान् रामको जन्म भएको अभिव्यक्ति दिएसँगै सदियौंदेखि ‘ज्वाइँ’को रुपमा पुजिँदै आएका राम एकाएक नेपालका ‘छोरा’ बन्न पुगेका छन् ।

भारतका तत्कालीन बृटिस शासक पंचमलगायत उच्च ओहदाका अधिकारी र नेपालका राजा पृथ्वीनारायण शाह तथा राणाहरुले सिकार खेल्ने घना वनको रुपमा रहेको ठोरीमा १९औं शताब्दीदेखिको ठोरीको सक्रिय इतिहास रहेको छ ।

नेपालको ठोरी र भारतको भिखना ठोरीको पनि आफ्नैखालको सम्बन्ध छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि भगवान् रामको जन्म ठोरीमा भएको पौराणिक इतिहासको विषयमा विभिन्न अडकलबाजी सुरु भएको छ ।

सरकार प्रमुखबाट आएको अभिव्यक्ति प्रमाणको आधारमा नै आएको होला भन्दै विश्वमाझ ठोरीलाई चिनाउँदै धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न स्थानीयले माग गरेका छन् ।

रामायणमा रामराज्यको बेला भगवान् रामले सीतालाई वनबास गराएको जिकिर छ ।

गर्भ अवस्थामा राज्यबाट निकालिएकी माता सीताको शरणस्थल महर्षि वाल्मीकिको आश्रम नै बनेको रामायणमा उल्लेख छ ।

माता जानकीले आश्रय लिएको एवं पुत्र लव–कुशको जन्म एवं बाल्यकालको शिक्षा–दीक्षा तथा अश्वमेध यज्ञको घोडासमेत समातेको उल्लेख छ ।

यो सबै पौराणिक तथ्य रामायणमा यसै लेखिएको होइन, रामायणसँग त्रेतायुगदेखि नेपालको पर्सा, चितवन र नवलपरासीको सम्बन्ध रहेको पुष्टि गर्छ ।

वाल्मीकि आश्रम नेपालको चितवनको माडी नगरपालिका वडा नम्बर–१ मा पर्दछ भने त्यसको संरक्षण–सम्वर्द्धनमा नेपालले विभेद गरेपनि प्रधानमन्त्रीले बल्ल रामायणलाई सम्झेपछि पर्सा–चितवन–नवलपरासीका जनतामा धार्मिक ऊर्जा थपिएको छ ।

ठोरीका बासिन्दा वृहस्पतिकृष्ण श्रेष्ठले महर्षि वाल्मीकि आश्रम भएको यस क्षेत्र ठोरीमा भगवान् रामको जन्म भएको हुनसक्ने पनि दाबी गर्दै प्रधानमन्त्री ओलीलाई प्रमाण जुटाउन सुझाएका छन् ।

सदियौंदेखि भारतको उत्तर प्रदेशमा विवादस्पद रहेको अयोध्यामा नै भगवान् रामको जन्म भएको भारतको सर्वोच्च अदालतले निर्णय गरेपछि नेपालको प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगतको हिन्दुहरुमाझ पुनः अन्योलता सिर्जना गरेको देखिन्छ ।

सीताको जन्मभूमि जनकपुर, पर्साको ठोरी र लव–कुश जन्मेको वाल्मीकि आश्रमलाई संरक्षण तथा यस भेगको पुरातन क्षेत्रको पहिचान गरी उत्खनन् गर्दै राम–सीताको जीवनसँग सम्बन्ध राख्ने तथ्यललाई विश्वसामु प्रस्तुत गर्नुपर्ने वर्तमान सरकारमाझ चुनौती आइपरेको छ ।

भिडियो हेर्नुहोस्