१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार, कुन जिल्लामा कति ?


0
Shares

कैलाली, साउन १ । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा आठ गरी २२ जनामा कोरोना पुष्टि भएको हो ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराकै आठजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आठ पुरुष र छ महिलासहित १४ जनामा कोरोना पुष्टि भएको हो ।

कैलालीका १०, कञ्चनपुरका तीन र बझाङका एकजनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।

बिहीबार २२ जना थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा बढी कैलालीमा ९४१, अछाममा ६४५, बाजुरामा ६१६, डोटीमा ५७८, कञ्चनपुरमा ४६२, डडेल्धुरामा २९२, बैतडीमा २७६, बझाङमा १७० र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितमध्ये एक हजार ६१५ जना ‘डिस्चार्ज’ भइसकेका छन् । आठजनाको मृत्यु भइसकेको छ ।