१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसभित्र गुटगत द्वन्द्व र आरोप–प्रत्यारोप


0
Shares

nepali congress politics

रोमन आचार्य र सुन्दर गुरुङ (इमेज)

काठमाडौं, साउन १ । नेपाली कांग्रेसमा भावी नेतृत्व चयनका लागि हुने भनिएको १४औं महाधिवेशनलाई लिएर गुटगत द्वन्द्व चर्किन थालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले फेरि सभापति बन्न अनेक जालझेल गर्न थालेको भन्दै इतर पक्ष आक्रामक बनेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले देउवालाई १४औं महाधिवेशन भाँड्न खोजेको र विधानको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ ।

महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा विभिन्न विभागमा सदस्य थप गर्ने काम तत्काल बन्द गर्न भन्दै बिहीबार रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई लिखित सुझाव दियो ।

नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवसहितका नेताले दिएको लिखित सुुझावमा ‘असाधारण परिस्थिति’मा महाधिवेशन प्रभावित गर्ने कार्य बन्द गर्न आग्रह गरिएको छ ।

यसअघि, समूहले बुधबार भेला गरेर सभापति देउवा महाधिवेशन प्रभावित गर्न लागिपरेको निष्कर्ष निकालेको थियो ।

पौडेल समूहको भेला र लिखित असहमतिले कांग्रेसभित्र गुटगत द्वन्द्व चर्किएको बुझ्न कठिन छैन ।

महाधिवेशन कार्यतालिका आइसकेपछि पनि विधानविपरीत गतिविधि बढेको देउवाइतर खेमामा रहेका नेताहरुको बुझाइ छ ।

यतिमात्र होइन, सभापति देउवाले क्रियाशील सदस्यता वितरणमा एकलौटी ढंगले अघि बढेको आरोप पनि छ ।

तर, देउवा पक्ष पौडेल पक्षको आरोप स्वीकार्न तयार छैन । किनभने, पदाधिकारी छलफलबाट अगाडि सारिएको र केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको महाधिवेशन कार्यतालिकाबमोजिम अघि बढ्नु सबैको समान दायित्व भएको देउवा पक्षको बुझाइ छ ।

सभापति देउवा खेमामा रहनुभएका केन्द्रीय सदस्य शंकर भण्डारी पार्टीभित्रको सानो झुन्ड कोठे बैठकमा उपस्थित भएर छलफल गर्ने प्रवृत्ति गलत भएको बताउनुहुन्छ ।

असहमति र दुविधाको विषय केन्द्रीय समितिको बैठकमा छलफल हुनुपर्ने भण्डारीको जोड छ ।

तर, संस्थापनइतर समूह भने पार्टी विधानसम्मत चलाउन र तोकिएको समयमा महाधिवेशन गराउन दबाब दिने छलफल र संवादलाई निरन्तरता दिनु स्वाभाविक भएको बताउँछ ।

समयमै १४औं महाधिवेशन गर्ने ध्येय हो भने विधानविपरीत काम गर्ने छुट स्वयं सभापतिलाई पनि छैन ।

यस्तै, इतर पक्षधरले पनि कोठे बैठक बसेर दिएको दबाबमात्र पर्याप्त नहुनसक्छ ।

त्यसकारण गुटगत आरोप–प्रत्यारोप र लडाइँभन्दा पनि समयमै महाधिवेशन गर्नेतर्फ सबैको ध्यान जान जरुरी छ ।

भिडियो हेर्नुहोस्