१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुल्कोटे र खागदलमा बेलिब्रिज हालेर तुरुन्तै अरनिको राजमार्ग सुचारु गरियोस: पूर्वमन्त्री बस्नेत


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको बुल्कोटे र खागदलमा तुरुन्त बेलिब्रिज हालेर अरनिको राजमार्ग सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।

राजमार्ग सञ्चालन नहुँदा बाह्बिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका नागरिकलाई अत्यन्तै अप्ठ्यारो अवस्था आएको भन्दै उहाँले बाढीपहिरो पीडितको राहत र उद्धारमा समेत समस्या भएकाले बेलिब्रिज जति सक्दो चाँडो हालेर बाटो सुचारु गर्न माग गर्नुभएको हो ।

उहाँले लगातारको बाढी र पहिरोबाट मानवीय र भौतिक क्षति भइरहेकाले पीडितहरुको उद्धार, राहत र बिरामीहरुलाई उपचारका लागि अस्पताल लान समेत समस्या भएको बताउनुभयो ।

शुक्रबार हामीसँग कुरा गर्दै उहाँले विस्थापितहरुलाई खाद्यान्न लान समेत एकदमै समस्या भएको भन्दै गर्भवती महिलाहरुलाई केही अप्ठ्यारो परे अस्पताल लाने वैकल्पिक बाटो नभएकाले जनजीवन एकदमै गार्हो भएको गुनासो गर्नुभयो ।

जुरे पहिरो जाँदा अरनिको राजमार्ग बन्द भएको अवस्थामा सुनकोशी नदीमा बेलिब्रिज हालेर तुरुन्तै बाटो खुलाइएको स्मरण गर्दै उहाँले चाडवाड नजिकिदैं गएकाले तातोपानी नाका हुँदै भित्रने सामानहरु काठमाडौं लानसमेत समस्या भएकाले हेलिकप्टरको प्रयोग गर्नुपरेको बताउनुभयो ।

‘स्वास्थ्य सामग्रीजस्तो अति आवश्यक सामाग्री तुरुन्त पुर्‍याउनुपर्ने अवस्थामा बाटो बन्द भएकाले सामानहरु लिपिङमै थन्किरहेका छन् उहाँले भन्नुभयो, चाडवाड नजिकिरहेको अवस्थामा तुरुन्तै बाटो खुलाउन नसके राज्यलाई समेत ठूलो घाटा हुन्छ ।’

गत असार २४ गतेको राति आएको बाढीपहिरोमा परि जम्बु र बुल्कोटका तीन जनाले ज्यान गुमाएका छन् भने २० जना अझै बेपत्ता छन् ।

बाह्रबिसे माथिका ११ ठाउँमा बाटो बन्द भएको थियो । त्यसमध्ये खागदल र बुल्कोटेमा सडक नै भोटेकोशी बाढीले बगाएपछि आवतजावतमा समस्या भएको छ ।

खागदल र बुल्कोटे खोलामा बेलिब्रिज हालेर मात्रै बाटो खुल्ने छ । त्यसका लागि समय लाग्ने सडक विभागले बताउँदै आएको छ । नौ दिनदेखि बाटो बन्द हुँदा तातोपानी नाका हुँदै भित्रने करौंडोका सामानहरु लिपिङमै अलपत्र परेका छन् ।