
काठमाडौं, साउन २ । आउँदो सोमबारदेखि पाँच दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू–भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ ।
मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएको छ ।
प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर–५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।
नेपालमा मनसुन सुरु भएदेखि हालसम्म मनसुनजन्य विपद्का घटनाबाट ११० जनाको मृत्यु भएको छ ।
विभिन्न ठाउँमा गएको बाढी–पहिरो, चट्याङ, सर्पदंशलगायतका मनसुनजन्य घटनाबाट ११० जनाको मृत्यु भएको जनाइएको छ ।
अझै ३२ जना बेपत्ता रहेका छन् भने १३२ जना घाइते छन् । विपद्बाट ४१८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
पहिरोका कारणमात्रै ८१ जनाको मृत्यु भएको छ । चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण दुईजनाको मृत्यु भएको छ ।
देशका विभिन्न ३३ जिल्लामा विपद्बाट मानवीय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन् ।
प्रतिक्रिया दिनुहोस्