
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन २ । धनगढी उपमहानगरपालिकाभित्रका सडकहरु सामान्य वर्षाका बेला पनि हिलाम्मे बन्दा समस्या भइरहेको छ ।
जीर्ण अवस्थामा रहेका भित्री सडकलगायत मुख्य सडक पनि सामान्य पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेका छन् ।
धनगढी उपमहानगरपालिकाका सरोकारवालाहरू सोही सडकमै दैनिकरूपमा आउजाउ गर्ने गरेपनि सडक मर्मतमा भने कसैको ध्यान पुगेको छैन ।
सडकहरु जीर्ण भएपछि आवत–जावत गर्नसमेत समस्या भइरहेको स्थानीयको गुनासो छ ।
वर्षाको बेला हिलो र हिउँदमा धुलो–धुवाँले गर्दा आवत–जावत गर्न समस्या हुने गरेको स्थानीयको भनाइ छ ।
समयमै सडक नबन्दा सवारी–साधन चलाउँदासमेत जोखिम मोलेर चलाउनुपरेको स्थानीयले बताएका छन् ।
ठूल्ठूला खाल्टा–खुल्टीले गर्दा सवारी दुर्घटनाको जोखिमसमेत बढाएको उनीहरूको दुखेसो छ ।
यस्तै, धनगढीको सबैभन्दा बढी खाल्टा–खुल्टी भएको हसनपुर–पिपल चौतारा सडक जीर्ण बनेको छ । सडक जीर्ण हुँदा रातिको समयमा पनि हिँड्डुल गर्न समस्या हुने गरेको छ ।
धुलो–धुवाँले गर्दा स्वास्थ्यमा समेत समस्या भइरहेको बताउँदै सर्वसाधारणले स्थानीय सरकारलगायत प्रदेश सरकारले सडक निर्माणमा कुनैपनि चासो नदेखाएको आरोप लगाएका छन् ।
धनगढी उपमहानगरपालिकाले भन्ने सडक मर्मतको टेन्डर भइसकेको जनाएको छ ।
तर, उपमहानगरपालिकाभित्रका सडकको टेन्डर भएर काम अगाडि बढेको भएपनि यस वर्ष कोरोनाका कारण ढिलाइ हुने प्रवक्ता सन्तोष मुडभरीले बताउनुभयो ।
ठेक्का लागिसकेका सडकहरु पनि समयमै नबन्ने र बनिसकेका सडकहरु केही महिनामै जीर्ण हुन थालेपछि आवत–जावत गर्नसमेत समस्या हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्