
बिराज रोस्यारा (कैलाली)
कैलाली, साउन २ । सुदूरपश्चिम प्रदेशमा शुक्रबार नौजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा छ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा तीन गरी थप नौजनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुरा, बझाङ र डोटीका एक/एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
यता, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका एक महिला र पाँच पुरुष गरी छजनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी उपमहानगरपालिका–१५ का १०, १९ र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, धनगढी–१४ का दुई वर्षीय एक बालक र २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
धनगढी–३ का २६ वर्षीय पुरुषमा पनि शुक्रबार कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा बढी कैलालीमा ९४७, अछाममा ६४५, बाजुरामा ६१६, डोटीमा ५७९, कञ्चनपुरमा ४६२, डडेल्धुरामा २९३, बैतडीमा २७६, बझाङमा १७१ र दार्चुलामा २० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये एक हजार ६०० जनाभन्दा बढी ‘डिस्चार्ज’ भइसकेका छन् । आठजनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्