१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि ‘क्वारेन्टिन’मा, क्वारेन्टिनमै बसेका बेला मृत्यु


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, साउन ३ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक ‘क्वारेन्टिन’मा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि क्वारेन्टिनमा पठाइएका ५२ वर्षीय यामबहादुर भारतीको मृत्यु भएको हो ।

पैयुँ गाउँपालिका–६ का उनको शुक्रबार राति गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।

श्वास–प्रश्वासमा समस्या आएपछि शुक्रबार राति उनलाई अस्पताल पुर्‍याइएको थियो । उनलाई राति नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी असार पहिलो साता भारतबाट फर्किएका थिए ।

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमकाअनुसार असार २३ गते उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना रोकथाम जिल्लास्तरीय कमान्ड पोस्टको निर्णयानुसार रिपोर्ट नेगेटिभ आएकोले उनलाई दुई साताका लागि पैयुँ–४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्नेगरी पठाइएको थियो ।

२४ गते उक्त क्वारेन्टिनमा पठाइएका उनको बसाइँ आइतबार सकिँदै थियो ।

मृतक भारती उच्च रक्तचापको बिरामी भएको पाइएको छ । उनी पहिलेदेखि नै उच्च रक्तचापको बिरामी भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताउनुभयो ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएपछि उनलाई मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

कोरोनाको लक्षण नदेखिएको भएपनि दाहसंस्कारमा सहज बनाउन उनको स्वाबको नमुना लिइएको डा. गौतमले बताउनुभयो ।

‘क्वारेन्टिनमै रहेको हुँदा एकपटक स्वाब लिएर रिपोर्ट आएपछिमात्रै दाहसंस्कार गर्न सल्लाह दिएका छौं’–डा. गौतमले भन्नुभयो ।