वाग्मती, साउन ३ । सिन्धुपाल्चोकका बाढी–पहिरोपीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ ।
बाढी–पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो ।
बाढीग्रस्त क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध गराएको खन्डमा उक्त जग्गामा प्रदेश सरकारले पीडितका लागि आवास निर्माण गरिदिने वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले निर्णय गरेको हो ।
बैठकले सिन्धुपाल्चोकका बाढी–पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा रहेको समितिले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत् राहत उपलब्ध गराउन लागेको हो ।
समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो ।
उहाँकाअनुसार सो रकमबाट स्थानीय तहले प्रदेश सरकारले उपलब्ध गराएको कार्यविधिअनुसार राहत, घाइतेको उपचार, पुनःस्थापनालगायतका काम गर्न सक्नेछ ।
यसअघि, मृतकका परिवारलाई रु एक लाख राहत रकम उपलब्ध गराउने प्रदेश सरकारले गरेको निर्णयअनुसार राहत रकम तत्काल उपलब्ध गराइने समितिले जनाएको छ ।
आइतबारसम्म राहत रकम स्थानीय तहमा पठाइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
तीनजना प्रदेशसभा सदस्यलाई समितिको सदस्यमा मनोनीतसमेत गरिएको छ । मनोनीत गरिएका सदस्यहरुमा राजेन्द्रमान श्रेष्ठ, छिरिङदोर्जे लामा र इन्द्रमाया गुरुङ रहनुभएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकाराम जम्मकट्टेलले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्