
सन्तोष पुर्कुटी (इमेज)
ताप्लेजुङ, साउन ३ । ताप्लेजुङका हिउँदभर धुलाम्मे हुने सडक बर्खा लागेसँगै हिलाम्मे भएका छन् ।
समयमा नै सडकको स्तरोन्नति नहुँदा वर्षेनि बर्खाको समयमा सवारीचालक र यात्रुले सडकमा सास्ती खेप्नुपरेको हो ।
ताप्लेजुङका चार स्थानीय तहलाई सदरमुकाम फुङलिङसँग जोड्ने बहानन्दे–दोभान सडकखन्ड हिलाम्मे भएकै कारण ठप्पजस्तै बनेको छ ।
मदन भण्डारी मार्गमा समेत पर्ने यो सडकको स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती भएको छ ।
मदन भण्डारी मार्गको बहानन्दे–दोभान खन्ड पनि असारयता ठप्पजस्तै छ । हिलाम्मे सडकको दुई दर्जन बढी स्थानमा सवारी–साधन घन्टौं फस्ने गरेका छन् ।
झरीकाबीच ‘ब्याक कटिङ’ गरेर माटो सडकमा हालिएकाले गाडी चिप्लिएर दुर्घटनामा पर्ने र हिलोमा गाडी फस्ने समस्या छ ।
आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाका स्थानीयले सदरमुकाम फुङलिङ जान प्रयोग गर्ने सडकमा पनि सवारी–साधन गुड्न सकेका छैनन् ।
निर्माणाधीन मेवाखोला र मध्यतमोर जलविद्युत् आयोजनासमेतका गरी यहाँ दैनिक ५०० को हाराहारीमा सवारी गुड्ने गरेका थिए ।
अहिले मोटरसाइकलसमेत गुड्न नसक्ने भएपछि कोही घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्न थालेका छन् भने कति पैदलै हिँड्न थालेका छन् ।
सडक सुधारका लागि वर्षेनि बजेट आउने गरेपनि सही सदुपयोग हुनसकेको छैन ।
असारे झरीकाबीच अहिले पनि सडक मर्मत भइरहेको छ । दुई निर्माण कम्पनीले सडक फराकिलो बनाउने, ‘सोलिङ’ बुन्ने, ‘ग्याबिङ वाल’ लगाउने कार्य गरिरहेका छन् ।
पानी निरन्तर परिरहेकाले कामको गुणस्तरका स्थानीयको आशंका छ ।
सडकको निर्माणको जिम्मा लिएको उत्तर–दक्षिण ओलाङचुङगोला सडक आयोजना कार्यालयले भने ‘लकडाउन’का कारण काममा ढिलो भएको बताएको छ । एक हप्ताभित्र काम सकिने र त्यसपछि बाटो राम्रो हुने कार्यालयको दाबी छ ।
मेची राजमार्गपछि ताप्लेजुङमा खनिएको पुरानो सडकको पनि अवस्था उस्तै छ ।
ताप्लेजुङका अधिकांश सडकको अवस्था नाजुक हुँदा पनि सुधारका लागि सम्बन्धित निकाएको ध्यान जानसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्