१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेकपा सचिवालय बैठकमा जुटेन सहमति


0
Shares

NCP prime minister kp oli prachanda madhab nepal cabinet reshuffle

काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानको गाँठो सचिवालय बैठकमा फुक्न नसकेपछि स्थायी समितिबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन् ।

सहमतिका लागि भन्दै शनिबार सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरि स्थायी समितिमै विवाद समाधानको प्रयास गरिने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ठोस निष्कर्ष ननिस्किएपनि जनादेशअनुसार काम गर्नेगरी पार्टीको संकट निवारण गर्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिने सम्बन्धमा औपचारिक प्रस्ताव नआएको बताउनुभयो ।

उहाँले आइतबार निर्धारित समयमै स्थायी समिति बैठक बस्ने जानकारी दिनुभयो ।

सचिवालय बैठक जारी रहेकै बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलसमेत बालुवाटार प्रवेश गर्नुभएको थियो ।

पार्टीको आन्तरिक विवादका कारण केही दिनदेखि पार्टी स्थायी कमिटी बैठक स्थगित भइरहेको अवस्थामा सचिवालय बैठक बसेको थियो ।

यसअघि, असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीको राजीनामाको विषय उठेसँगै बैठक प्रभावित हुँदै आएको छ ।

पटक–पटक मिति तोक्दै बैठक सारेर अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच भएका छलफलमा पनि सहमति हुनसकेको छैन ।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान दोहो¥याउनुभएको छ भने दाहालसहित माधवकुमार नेपाललगायतका नेताहरुले दुईमध्ये एक पद छोड्नुपर्ने अडान राखेका छन् ।

यसैबीच, दुई अध्यक्षबीच सचिवालय बैठक सुरु हुनुअघि बालुवाटारमा भेटवार्ता भएको थियो भने त्यसअघि बिहान दाहालसहितका पाँचजना शीर्ष नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको थियो ।