
काठमाडौं, साउन ३ । उद्योगी, व्यवसायी तथा अर्थविद्हरुले आशा गरेअनुसार नै आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आएको प्रतिक्रिया दिएका छन् ।
कोभिड–१९ पछिको समग्र परिस्थितिलाई सम्बोधन गर्नेगरी आएको मौद्रिक नीति कार्यान्वयनको अवस्था भने कस्तो हुने हो भनेर अर्थविद्ले आंशकासमेत गरेका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेर आएको मौद्रिक नीति आशा गरेअनुसार नै भएको बताउनुभयो ।
मौद्रिक नीति जुन ‘स्प्रिट’मा आएको छ, त्यही स्प्रिटमा कार्यान्वयन भयो भने खोट लगाउने कुनै ठाउँ नभएको क्षेत्रीले बताउनुभयो ।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले राष्ट्र बैंकले कृषि क्षेत्रमा १५ प्रतिशत लगानीका लागि आह्वान गरेपछि सबैले वास्तविक कृषि क्षेत्रमा लगानीका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
एक करोडभन्दा कमको व्यवसाय गरिरहेका कृषक, साना उद्योगी–व्यवसायीहरुलाई पुँजी अभावले व्यवसाय गर्न समस्या नहुनेगरी नीति आएको उहाँले बताउनुभयो ।
गोल्यानले कोभिड–१९ का कारण समस्यामा परेका व्यवसायीहरुका लागि पुनर्कर्जाको व्यवस्थाले ठूलो सहयोग पुग्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोभिडका कारण समस्यामा परेका निजी क्षेत्रले राखेका मागभन्दा राम्रो मौद्रिक नीति आएको बताउनुभयो ।
‘लकडाउन’बाट प्रभावित व्यवसायीहरुको बैंक किस्ता र ब्याज तिर्ने म्यादसमेत बढेकाले कर्मचारीहरुलाई तलब खुवाउन र व्यवसायलाई पुनर्जीवन दिन समस्या नहुने उहाँले बताउनुभयो ।
राष्ट्र बैंकभित्रै ‘टास्क फोर्स’ बनाएर कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्नुपर्ने उहाँहरुको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्