१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यो वर्ष दुई सयलाई मात्र विभूषण दिइने, एक वर्षसम्म ग्रहण नगरे खारेज


0
Shares

काठमाडौं । सरकारले विभूषणको संख्या कटौती गरेको छ । सिफारिसका आधारमा जतिजनालाई पनि वितरण गर्दा विकृति बढेको भन्दै यस वर्ष दुई सयजनालाई मात्र विभूषण प्रदान गरिने भएको छ ।

यसअघि विभूषणको संख्या तोकिएको थिएन । सिफारिसका आधारमा गत वर्ष ६ सय ३३ जनालाई विभूषण प्रदान गरिएको थियो । यसपटक विभूषण नियमावली संशोधन गरी संख्या तोकिएको हो । य

स वर्ष सयजनालाई मानपदवी, ५०–५० जनालाई अलंकार र पदक प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ ।

संविधान दिवसका अवसरमा २ असोजमा सरकारले विभूषण दिइने व्यक्तिको नाम सार्वजनिक गर्दै आएको छ ।

यस वर्ष नयाँ मापदण्डअनुसार छनोट प्रक्रिया अघि बढिसकेको गृह मन्त्रालयका सहसचिव कुमार खड्काले बताए ।

धेरै विभूषण वितरण गर्दा एकातर्फ विभूषणको ओज नै घटेको र अर्कोतर्फ राज्यको खर्च पनि बढेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

कतिपय विभूषणमा सुन प्रयोग हुने भएकाले ठूलो संख्यामा वितरण हुँदा आर्थिक भार बढ्ने गरेको छ । संख्या तोकिएपछि केही हदसम्म विकृति पनि कम हुने गृह मन्त्रालयका अधिकारी बताउँछन् ।

गृह मन्त्रालय र कानुन आयोगले बनाएको विभूषणसम्बन्धी नयाँ ऐनको मस्यौदामा एक वर्षमा बढीमा ९५ जनालाई मात्र दिने प्रस्ताव गरिएको छ ।

मस्यौदामा मानपदवी २०, अलंकार २७, पदक ४८ जनासम्मलाई दिन सकिने उल्लेख छ ।

विभूषणको सुशोभन समारोह भएको एक वर्षभित्र सम्बन्धित व्यक्ति लिन नआएमा विभूषण स्वतः खारेज हुने प्रावधान राखिएको छ ।

हाल सयभन्दा धेरै व्यक्तिले वर्षौँदेखि विभूषण लिएका छैनन् । विभूषण छनोटप्रति असन्तुष्टि जनाउँदै धेरैले नलिएको जनाएका छन् । नयाँ पत्रिका दैनिकबाट