१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पत्रकार राहत कोषमा पत्रकार महासंघ बेलायतबाट २३ लाख रुपैंयाँ सहयोग


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले स्थापना गरेको पत्रकार आपतकालीन राहत कोषमा पत्रकार महासंघ बेलायत शाखाले २३ लाख रुपैंयाँ उपलब्ध गराउने भएको छ ।

बेलायत शाखाको संयोजनमा शनिबार भएको जुट मिटिङमार्फत केन्द्रिय समितिले स्थापना गरेको राहत कोषमा तत्काल २३ लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय भएको बेलायत शाखाका महासचिब संजयभक्त कँडेलले जानकारी दिनुभयो ।

बेलायत शाखाले सन् २०१७ मा बेलायतमा च्यारिटी कार्यक्रम गरेर संकलित रकमबाट सो सहयोग गरेको हो ।

कोभिड १९ सक्रमणका कारण नेपाली पत्रकारहरुमा देखिएको संकट ब्यवस्थापनका लागि स्थानमा भएको उक्त कोषमा बेलायतबाट प्राप्त रकम मध्ये तीन लाख रुपैंयाँ तत्काल परिचालन गर्ने र २० लाख रुपैंयाँ कोषमा रहने गरी रकम हस्तान्तरण गरिने महासचिब कँडेलले बताउनुभयो ।

महासंघ केन्द्रीय समितिबाट ३० लाख रुपैंयाँ जम्मा गरेर सुरुआत गरिएको राहत कोषमा रकम संकलन हुनेक्रम सुरु भएको छ ।

केन्द्रिय समितिका अध्यक्ष गोविन्द आचार्य, महासचिब रमेश विष्टलगायतको सहभागिता तथा बेलायत अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षतामा भएको मिटिङबाट राहत कोष साथै १ हजार पाउण्ड राशीको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ ।

महासंघले स्थापना गरेको कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्यावाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने गरी कोष सञ्चालन निर्देशिका र मापदण्ड तयार गर्ने निर्णय यसअघि नै भएको थियो ।

त्यस्तै उक्त कोष सञ्चालन निर्देशिका र मापदण्ड तयार गर्न केन्द्रले गठन गर्ने समितिमा महासंघ बेलायत शाखाले महासचिब संजयभक्त कंडेललाई प्रतिनिधिका रुपमा पठाउने निर्णय समेत गरेको छ ।