काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक आज बस्दैछ । हिजो वसेको पार्टीको सचिवालय बैठकले विवाद समाधानको गाँठो फुकाउन नसकेपछि स्थायी कमिटीबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन् ।
सहमतिका लागि भन्दै हिजो सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरी स्थायी कमिटीमै विवाद समाधानको प्रयास गरिने भएको हो । बैठकमा पार्टी एकताको रक्षा गर्दै गुटगत छलफलमा जान नहुने धारणा आएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सांझ बसेको बैठकमा ठोस निष्कर्ष ननिस्किए पनि जनादेशअनुसार काम गर्ने गरी पार्टीको संकट निवारण गर्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिने सम्बन्धमा औपचारिक प्रस्ताव नआएको बताउनुभयो । उहांले आज निर्धारित समयमै स्थायी कमिटी बैठक बस्ने जानकारी दिनुभयो ।
सचिवालय बैठक जारी रहेकै बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल,महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसमेत बालुवाटार प्रवेश गर्नुभएको थियो ।
पार्टीको आन्तरिक विवादका कारण केही दिनदेखि पार्टी स्थायी कमिटी बैठक स्थगित भइरहेको अवस्थामा सचिवालय बैठक बसेको थियो ।
सचिवालय बैठक सकिनेबित्तिकै ओली र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्नुभएको थियो ।
यसअघि असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको राजीनामाको विषय उठेसँगै बैठक प्रभावित हुंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्