
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा महाधिवेशन गर्ने विषयमा आफ्नो सहमति नभएको बताउनुभएको छ ।
आज बिहान आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरिएपनि त्यस बिषयमा आफू सहमत नभएको नेताहरुलाई ब्रिफिङ गर्नु भएको हो ।
अध्यक्ष दाहालले बाहिर आफूले पनि मंसिरमा महाधिवेशन गर्ने भन्नेबारे सहमति गरिसकेको भन्ने समाचारहरु आएपछि आफ्नो सचिवालयमार्फत कुनै सहमति नभएको जानकारी समेत गराएको बताउनुभयो ।
पार्टीभित्रको विवादले विभाजनको अवस्थासम्म पुगिसकेपछि समस्या समाधानको जिम्मा प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई दिइएको छ ।
तर, ओली र दाहालबीचको वार्ताबाट निकास निस्कन नसकेपछि हिजो सचिवालयको बैठक बसेको थियो । हिजोको बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि स्थायी कमिटीमा कसरी अघि बढ्ने भन्नेबारेमा दाहाल–नेपाल पक्षबीच छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्