
काठमाडौं । बेलायतले चीनले अल्पसंख्यक उड्गुर मुसलमान समुदायमाथि चरम दमन गरेको आरोप लगाएको छ ।
बेलायतका विदेश सचिव डोमिनिक रावले बिबिसीसँगको कुराकानीमा चीनले अल्पसंख्यक उड्गुर मुसलमान समुदायमाथि चरम मानवअधिकारको हनन् गरेको आरोप लगाउनुभएको हो ।
उहाँले चीनले आफ्ना गतिविधि तत्काल सुधार नगरे चीनमाथि प्रतिबन्धहरु लगाउन सक्ने चेतावनीसमेत दिनुभएको छ ।
लामो समयदेखि चीनले अल्पसंख्यकहरुमाथि दमन गरेका प्रतिवेदनहरु सार्वजनिक भएपनि त्यस्ता व्यवहारमा सुधार नल्याएको विदेशमन्त्री डोमिनिकले आरोप लगाउनुभएको छ ।
तर बेलायतका लागि चिनियाँ राजदुत लियू सियामिङले भने विदेश सचिव डोमिनिकको आरोपको खण्डन गर्नुभएको छ ।
उहाँले चीनले सबै नागरिकमाथि समान रुपमा व्यवहार गर्ने स्पष्ट पार्नुभएको छ ।
उहाँले विभिन्न शिविरहरुमा अल्पसंख्यकलाई चरम यातान दिइएको भन्ने बेलायतको आरोपमा कुनै सत्यता नभएकोसमेत दावी गर्नुभएको छ ।
बेलायतका केही सञ्चारमध्यमले उड्गुर मुसलमानहरुलाई चीनको सिनजियाङ प्रान्तमा रहेका शिविरमा राखेर चरम यातान दिएको भिडियो सार्वजनिक गरेको बताइएपनि त्यसको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।
चीनले अल्पसंख्यक समुदायको जनसंख्या नियन्त्रण गर्न भन्दै महिला तथा पुरुषहरुलाई अनुमति बिना परिवारनियोजन गर्ने गरेको आरोप लागेको छ ।
तर चीनले सबै नागरिकको मानवअधिकारको रक्षा गर्न तयार रहेको बताउँदै आएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्