
कैलाली । धनगढीमा सिकारी बाज चरा मार्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार राती धनगढी उप–महानगरपालिकाको बोराडाँडी क्षेत्रबाट बाज चरा मारेर लैजादै गरेको अवस्थामा अस्थायी प्रहरी विट चटकपुरबाट खटिएको प्रहरीको टोलीले चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय कमल राना, २९ वर्षीय प्रलाद राना, ३० वर्षीय देवसिह राना र ३२ वर्षीय आशा राना रहेका छन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाईएको बताउनुभयो ।
उनीहरुले कञ्चनपुरको लालझाडी संरक्षित क्षेत्रबाट बाज मारेर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले मरेको बाज सहित चारजनालाई हिरासतमा राखेर अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।
उहाँले बाज संरक्षित चरा भएकाले अनुसन्धान गरी प्रचलित कानुन अनुसार आवश्यक कारवाही गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्