
काठमाडौं, साउन ५ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संघीय संसदका सभापतिहरुसँग छलफल गर्नुभएको छ ।
संसदीय समितिका काम–कारबाही, समस्या र समाधानलगायतका विषयमा सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले समिति सभापतिसँग छलफल गर्नुभएको हो ।
छलफलमा समितिका सभापतिहरुले समितिहरुबीच समन्वयको अभाव, समिति बढेपनि भौतिक तथा प्राविधिक सामग्रीको अभावलगायतका गुनासो, समस्या र जटिलताबारे गुनासो राख्नुभएको थियो ।
समितिका सभापतिहरुले उठाएका सवालहरुमा सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले धारणा राख्नुभएको थियो ।
केही समितिका सभापतिहरुले कार्यक्षेत्र जुधेको विषयमा राखेको जिज्ञासामा सभामुख अग्निप्रसाद सापकोटाले समितिहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुन नहुने बताउनुभयो ।
छलफलमा राष्ट्रियसभाका उपाध्यक्ष दाहाल, प्रतिनिधिसभाका १० मध्ये आठओटा, राष्ट्रियसभाका चारओटा र दुईओटा संयुक्त समितिमध्ये एक समितिका सभापति सहभागी हुनुभएको थियो ।
प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका चार र दुईओटा संयुक्त गरी संघीय संसदमा १४ ओटा समिति रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्