
सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने भन्दै प्रशासनले सुनकोसी र भोटेकोसी आसपासका वासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।
लगातार पानी परिरहेको र सो तालको क्षमता भन्दा बढी पानी जम्मा भएकाले ताल फुट्न सक्ने भन्दै चिनियाँ अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएपछि प्रशासनले स्थानीयलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको हो ।
सोमबार अबेर स्थानीय प्रशासनले विज्ञप्ति निकाल्दै सुरक्षित रहन र खोला आसपासको बस्ती खाली गर्न बलेफिदेखि माथि माइकिङ गरेको थियो ।
राति पानी केही मत्थर भएपनि मध्यरातदेखि चीनमा पानी परिरहेकाले खतरा कायमै रहेको सूचना बिहानै पनि हामीलाई आएको छ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव प्रसाद काफ्लेले भन्नुभयो ।
काफ्लेका अनुसार यता जस्तो सानो पानी परेको होइन उता अविरल मुसलधारे पानी परिरहेको जानकारी प्राप्त भएको छ ।
हिजो भन्दा भोटेकोसी नदीको वहाव बढेको स्थानीयले बताएका छन् । प्रशासनले सूचना जारी गरेपनि आतिहाल्नुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल बताउनुहुन्छ ।
‘उता ताल फुट्यो भन्ने जानकारी आए यता भाग्न सक्ने समय रहन्छ तर पनि सतर्कता अपनाउनै पर्ने देखिन्छ’, ढकालले भन्नुभयो ।
तातोपानी नाकाबाट करिव ४५ किमि टाढा तिब्ब्तको कुतीबजारबाट उक्त तालको पानी भोटेकोसीमै मिसिने भएकाले खतरा हुन सक्ने अनुमान स्थानीय प्रशासनको छ ।
उक्त ताल पुग्न कुतीबाट गाडीमा करिव ५–६ किमि पार गर्नुपर्छ । कराइ आकारको उक्त ताल भरिएकाले त्यसको जमेको पानी ओभर फ्लो हुने वा फुट्न सक्ने शंका गरिएको हो ।
नेपालीले दुध पोखरीको नामले चिनिने उक्त ताल निकै ठूलो रहेको छ । तातोपानी स्थित मितेरी पुल पारि चिनियाँ भूभागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ ।
भूकम्पछि तातोपानी भन्सार बन्द भएपछि चीनले मितेरीपुलमा आफ्ना कर्मचारी र सुरक्षाकर्मी मात्र राख्दै आएको छ ।
यस अघि बसेका सर्वसाधारणलाई भने सिगात्सेमा बसोबास गराइसकेको छ । ताल फुटेमा त्यसको असर सीमा क्षेत्र तातोपानीदेखि तल्लो भाग सुनकोसी, भोटेकोसी किनार हुँदै दोलालघाट, सिन्धुली, रामेछाप र तराइका जिल्लामासमेत पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्