
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन ६ । सुदूरपश्चिम प्रदेशमा मंगलबार ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरास्थित प्रयोगशाला, धनगढीस्थित प्रयोगशाला र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरामा गरिएको परीक्षणमा डोटीका चारजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कैलालीका एकजनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।
यता, धनगढीमा गरिएको परीक्षणमा थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।
कञ्चनपुरका २० जना, बझाङका चारजना र कैलालीका तीनजनामा कोरोना पुष्टि भएको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस प्रयोगशालामा पछिल्लो २४ घन्टामा १८८ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये २७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार १२७ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये दुई हजार १२९ जना ‘डिस्चार्ज’ भइसकेका छन् । आठजनाको मृत्यु भइसकेको छ ।
कुन जिल्लामा कति संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सुदूरपश्चिममा अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९८३ जनामा संक्रमण पुष्टि भएको छ ।
अछाममा ६४५, डोटीका ६३०, बाजुराका ६१६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, कञ्चनपुरका ४८३, डडेल्धुराका २९७, बैतडीका २७६, बझाङका १७७ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्