
नरेन्द्र मानन्धर (इमेज)
काठमाडौं, साउन ६ । भारतको अयोध्या राम जन्मभूमि होइन भन्दै लामो समयदेखि भारतीय बौद्धहरुले संघर्ष गर्दै आएका छन् ।
उनीहरुले साकेत मुक्तिका लागि भन्दै आन्दोलनसँगै कानुनी उपचार पनि खोजिरहेका छन् ।
तर, न्यायालयले नै याचिका खारेज गरिदिएपछि भारतीय बौद्धहरु जनतासमक्ष जाने र त्यहीँबाट साकेत मुक्ति घोषणा गर्ने तयारीमा छन् ।
भारतको राम जन्मभूमि भनिएको अयोध्या प्राचीन बौद्धनगर साकेतको पुरातात्विक र साँस्कृतिक बौद्ध विरासतको सुरक्षाका लागि दायर गरिएको याचिका भारतको ‘सुप्रिम कोर्ट’ले खारेज गरिदिएको छ ।
डा. आम्बेडकर बोधी कुञ्ज फाउन्डेसन मुंगेर बिहार र द बुद्धिष्ट सोसाइटी अफ इन्डिया, महाराष्ट्रले दायर गरेको याचिका निवेदन कोर्टका तीनजना न्यायाधीशको संयुक्त इजलासले हिजो (सोमबार) खारेज गरिदिएको हो ।
निवेदकहरुलाई विदेशी इशारा र आर्थिक सहयोगमा याचिका दायर गरेको आरोप लगाउँदै एक/एक लाख जरिवानासहित ‘सीबीआई’लाई छानबिन गर्न आदेशसमेत दिएको जनाइएको छ ।
उत्तर प्रदेश, भारतका साकेत मुक्ति आन्दोलनका अगुवा बौद्ध भिक्षु सुमित रत्नले कोर्ट र सरकार तानाशाही तथा अलोकतान्त्रिक भएको आरोप लगाउनुभयो ।
उहाँले बौद्धहरुको मनोबल कमजोर गर्न षड्यन्त्र भएको भन्दै साकेत मुक्तिको लागि अब जनआन्दोलन गर्ने चेतावनी दिनुभयो ।
विगतमा अयोध्यामा पुरातात्विक उत्खनन् गर्नेक्रममा र अहिले राम मन्दिर निर्माणका क्रममा बौद्ध संस्कृतिसँग जोडिएका सामग्री प्राप्त भएको जनाइएको छ ।
प्राचीन बौद्ध नगर साकेतलाई राष्ट्रिय स्मारक घोषणा गर्न र प्राप्त पुरातात्विक बौद्ध सामग्री संरक्षणका लागि संग्रहालय निर्माण गर्न उक्त दुई बौद्ध संस्थाले याचिका दायर गरेका थिए । विरोधका बाबजुद् अयोध्यामा राम मन्दिर निर्माण गरिँदैछ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्