३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


बीपीको आदर्श, सिद्धान्त अंगीकार गर्न कांग्रेस चुक्दै गएको टिप्पणी


0
Shares

congress politics

अक्कल कुँवर र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, साउन ६ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको आज ३८औं स्मृति दिवस ।

कांग्रेस र उसका भ्रातृसंगठनले हरेक वर्ष साउन ६ गते बीपी स्मृति दिवस मनाउने गरेका छन् ।

औपचारिकता निभाउन यो दिवस मनाउने गरेको भएपनि कांग्रेसका नेता–कार्यकर्ता बीपीको आदर्श, सिद्धान्त र मूल्य–मान्यता अंगीकार गर्न चुक्दै गएका छन् ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएका बीपी कोइरालाले आफूभन्दा पार्टी, पार्टीभन्दा देश र जनतालाई सर्वोपरी राख्ने संस्कारको विकास गर्नुभएको थियो ।

तर, कोइरालाले नै स्थापना गरेको पार्टी नेपाली कांग्रेसका नेता र कार्यकर्ताले उहाँले प्रतिपादन गरेको सिद्धान्तलाई एकादेशको कथाजस्तै बनाइरहेका छन् ।

कांग्रेसभित्र अहिले व्यक्तिवादी चरित्र र स्वार्थकेन्द्रित राजनीति हावी छ भने इमान्दार नेता तथा कार्यकर्ताको खडेरी लागेको छ ।

यतिमात्र होइन, आफ्नै संस्थापकहरुले प्रतिपादन गरेका सिद्धान्त र मूल्य–मान्यतालाई तिलाञ्जलि दिएर कांग्रेस अरुको सिद्धान्तमा लत्रिएको आरोप लाग्ने गरेको छ ।

बीपीले २०३३ सालमा प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिलाई अहिलेपनि देश र जनताले आवश्यक महसुस गरिरहेको बेला कांग्रेसले भने व्यवहारिकरुपमा महसुस गर्न सकेको देखिँदैन ।

नेता तथा कार्यकर्ताहरु व्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठाको लागि झै–झगडामै रुमल्लिएका छन् ।

तर, कांग्रेसका नेताहरु भने बीपीको सिद्धान्त, आदर्शलाई आत्मसात् गरेको भन्न अझै थाकेका छैनन् ।

बीपी नैतिकताबिनाको राजनीतिले कहीँ–कतै पुर्‍याउँदैन भन्ने मान्यता राख्नुहुन्थ्यो । तर, उहाँले नै स्थापना गर्नुभएको पार्टीका नेता र कार्यकर्तामा नैतिकताको खडेरी लागेको छ ।

विगतका गल्ती सच्याएर बीपीको आदर्श, मूल्य र मान्यतालाई आत्मसात् गर्न नसके कांग्रेस इतिहासमा सीमित हुने जिकिर गर्नुहुन्छ, कांग्रेस नेता लोकेश ढकाल ।

बीपीको सिद्धान्त, मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्न नसकेका कांग्रेसका नेता तथा कार्यकर्ताहरु भाषणमा भने उहाँको प्रशंसा गर्न कहिल्यै थाक्दैनन् । तर, व्यवहारमा भने त्यो लागू भएको देखिँदैन ।

भिडियो हेर्नुहोस्

बीपीको आदर्श, सिद्धान्त अंगीकार गर्न कांग्रेस चुक्दै गएको टिप्पणी

बीपीको आदर्श, सिद्धान्त अंगीकार गर्न कांग्रेस चुक्दै गएको टिप्पणी

Posted by ImageKhabar.com on Tuesday, July 21, 2020