१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ट्राफिक प्रहरीद्वारा मापसे चेकिङ सुरु, छड्के टोलीसमेत परिचालन


0
Shares

काठमाडौं । सार्वजनिक यातायत सञ्चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।

यस्तै आजबाटै लागु हुने गरी लकडाउनअघिका सबै ट्राफिक गतिविधि सुरु गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्राफिक नियमविरुद्ध चल्नेलाई जरिवाना लाग्नेछ । महाशाखाले सडकमा गुड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्के टोलीसमेत परिचालन गरेको छ ।

टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने जनाएको छ ।

महिला प्रहरीको टोलीले बसपार्क, बसबिसौनी र गुडिरहेको बसमा समेत अनुमगन गर्नेछ ।

ट्राफिक प्रहरीले दैनिक तोकिएको भन्दा बढी यात्रु बोक्ने सार्वजनिक सवारीलाई कारबाहीसमेत गर्दै आएको छ ।

उपत्यकामा दैनिक १५२ स्थानमा ट्राफिक प्रहरीले ड्युटी गर्दै आएको छ भने ४६ स्थानमा संयुक्त चेकिङ हुँदै आएको छ ।

प्रविधियुक्त निगरानी भ्यान, सीसीटीभी क्यामेराबाट पनि निगरानी बढाइएको ढकालले बताए । उपत्यकामा १५ सय ट्राफिक प्रहरी कार्यरत छन् ।