
काठमाडौं, साउन ७ । आज (बुधबार) देशका मुख्य नदीहरुमा जलसतह घट्दोक्रममा रहेको छ ।
कन्काई, कमला, वाग्मती, नारायणीलगायतका नदीहरुको बहाव घट्दोक्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाव बढ्दोक्रममा रहेपनि कन्काई, कमला, वाग्मती, नारायणी, पश्चिम राप्ती, बबई र केही सहायतक नदीहरुमा पानीको बहाव घट्दोक्रममा रहेको बताउनुभयो ।
यस्तै, महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाव घट्दोक्रममा रहेको छ । कन्काई, कमला, वाग्मती नदीमा बहाव घटबढ हुनेक्रममा रहको उहाँले बताउनुभयो ।
अहिले देशभरिको मौसम बदली रहेको छ । प्रदेश नम्बर–५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ ।
आगामी २४ घन्टामा प्रदेश नम्बर–१, २ ५, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
आज अधिकांश स्थानमा वर्षा नभएपनि वर्षा नै नहुने भन्ने नभएको उहाँले बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले पूर्वी राप्ती, भेरी, कन्काई, कमला, इनाउ, पश्चिम राप्ती, बबई, महाकालीलगायतका २१ ओटा नदी आफ्नो कार्यक्षेत्रभित्र रहेको बताउनुभयो ।
महाकाली, कर्णाली, बबई, नारायणी, रुपाताल संक्षण, बक्राह, कोसी, वाग्मती र कमलालगायत १० ओटा नदी नियन्त्रणको जिम्मेवारी पनि आफ्नो मातहत आउने बताउनुभयो ।
गत आर्थिक वर्षमा ४७ किलोमिटर तटबन्द निर्माण भएको उहाँले बताउनुभयो ।
गत वर्ष १९० हेक्टर जग्गा डुबान हुनबाट जोगाइएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्