१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषद्को अध्यक्षता


0
Shares

king

रियाद, साउन ७ । बिरामी भएर अस्पतालमा उपचार गराइरहनुभएका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै ‘भर्चुअल’ माध्यमबाट मन्त्रिपरिषद्को अध्यक्षता गर्नुभएको छ ।

साउदी प्रेस एजेन्सी (एसपीए)का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालमा भर्ना हुनुभएको थियो ।

राजा सल्मानका लागि अस्पतालमा विशेष कक्षको व्यवस्था पनि गरिएको छ । जहाँ भर्चुअल बैठकका लागि आवश्यक विद्युतीय सामग्रीहरुको प्रबन्ध गरिएको छ ।

राजा सल्मानले आफ्नो स्वास्थ्यप्रति सद्भाव दर्शाउने सबैप्रति आभार प्रकट गर्नुभएको पनि एसपीएले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकमा मक्कामा हुने आगामी हज तीर्थयात्राको व्यवस्थापनकाबारेमा छलफल भएको थियो ।

कोरोनाभाइरस महामारीका कारण यस वर्ष हज तीर्थयात्रामा सहभागी हुनेहरुको संख्यामा व्यापक कटौती गरिएको छ ।

साउदी अधिकारीहरुले साउदी अरेबिया निवासी करिब एक हजार व्यक्तिलाईमात्र मक्का प्रवेशको अनुमति दिइने यसअघि प्रस्ताव गरेका थिए ।

तर, हाल यसमा संशोधन गरी करिब १० हजारलाई हजको अनुमति दिइन लागेको साउदी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विगतमा विश्वभरबाट हरेक वर्ष करिब २५ लाख व्यक्तिले मक्कामा हज गर्ने गरेका थिए । रासस/एएफपी