
नरेन्द्र मानन्धर (इमेज)
काठमाडौं, साउन ७ । भारतमा रहेका बौद्धहरुले बौद्ध सभ्यताको केन्द्र अयोध्याको साकेतलाई अन्तर्राष्ट्रियकरण गर्ने भएका छन् ।
साकेत मुक्ति आन्दोलनको मंगलबार (हिजो) बसेको आकस्मिक बैठकले अयोध्या राम जन्मभूमि नभएको भन्दै साकेत मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको हो ।
भारतमा अल्पसंख्यक र बौद्धहरुको जमिन र सम्पत्तिसमेत सरकारले कब्जा गरेर अन्याय गरेको उनीहरुको आरोप छ ।
उनीहरुले साकेतको वास्तविकता विश्वमाझ पुर्याउन र अयोध्यामा भइरहेको दमन रोक्दै अन्तर्राष्ट्रिय दबाब सृजना गर्न दिल्लीमा रहेका सबै मुलुकका दूतावासमा ज्ञापनपत्र बुझाउन लागेका हुन् ।
आन्दोलनका अगुवा बौद्ध भिक्षु सुमितरत्न थेरोले मोदी सरकार तानाशाही बन्दै गइरहेको भन्दै आन्दोलनलाई समर्थन गर्न सबैमा अपिल गर्नुभयो ।
उहाँले भारतका बहुजन सांसदहरुलाईसमेत ज्ञापनपत्र बुझाउने र यो मुद्दालाई भारतीय संसदमा समेत उठाउने बताउनुभयो ।
अयोध्या प्राचीन बौद्धनगर साकेतको पुरातात्विक र साँस्कृतिक बौद्ध विरासतको सुरक्षाका लागि दायर गरिएको याचिका भारतको उच्च न्यायालयले खारेज गरिदिएको थियो ।
न्यायालयले याचिका दायरकर्तालाईसमेत विदेशी इशारा र आर्थिक सहयोगमा याचिका दायर गरेको आरोप लगाउँदै एक/एक लाख भारु जरिवानासहित ‘सीबीआई’लाई छानबिन गर्न भनेको छ ।
प्रतिक्रिया दिनुहोस्