२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


लमजुङमा पहिरो, एकै गाउँका १८ घर बगायो, आठजना घाइते


0
Shares

lamjung flood

नवीनराज कुइँकेल (इमेज)

लमजुङ, साउन ७ । केही दिनयता परेको भीषण वर्षासँगै बुधबार बिहान आएको पहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–३, पल्लोटारीमा १८ घर बगाएको छ ।

पहिरो छल्न भाग्दै गर्दा आठजना घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको बेसीसहरस्थित लमजुङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अरुलाई अस्पताल लैजानुपर्ने अवस्था नरहेको जनाइएको छ ।

बुधबार बिहान पौने १० बजेतिर खसेको पहिरोले १८ घर पूर्णरुपमा बगाएको हो ।

सोही गाउँमा रहेका अरु ६२ घर उच्च जोखिममा रहेका छन् ।

पहिरोका कारण ८० घरका करिब ४०० परिवारलाई अन्यन्त्र स्थानान्तरण गरिएको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

मंगलबार सोही स्थानमा पहिरो गएको थियो । पहिरो जोखिमको पूर्वानुमान गर्दै छिमेकी गाउँमा स्थानान्तरण गरिएकाले मानवीय क्षति हुन नपाएको पीडितहरु बताउँछन् ।

अघिल्लो दिनको पहिरोले पुरिएका घरका सामान झिक्दै गर्दा पुनः पहिरो झरेको पीडित बुद्धिमाया अछामीले बताउनुभयो ।

पहिरोको उच्च जोखिममा परेकाहरुको स्थानान्तरणमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधिहरु खटिएका थिए ।

उनीहरुलाई खुला स्थान, विद्यालय, सामुदायिक भवनहरुमा अस्थायीरुपमा स्थानान्तरण गरी खान–बस्न व्यवस्था गरिने गाउँपलिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

पहिरोपीडितहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, ‘आरसीडीसी’लगायतले राहत सामग्री दिएका छन् ।

विगतका वर्षहरुमा पनि सो क्षेत्रमा पहिरोले दुःख दिइरहेकाले अबका दिनमा त्यहाँ पुनः गएर बस्न नसकिने पीडितहरु बताउँछन् ।