
दीपेन्द्र अधिकारी र राममान डंगोल (इमेज)
काठमाडौं, साउन ७ । कोरोना महामारीका कारण चैत महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त सबै क्याम्पसहरु बुधबारबाट खुलेका छन् ।
नियमित पठन–पाठन बन्द रहेपनि प्रशासनिक कार्य र परीक्षा सञ्चालनको लागि भने आन्तरिक तयारी सुरु भएको छ ।
सरकारले करिब चार महिना लामो ‘लकडाउन’ अन्त्य गरेसँगै त्रिभुवन विश्वविद्यालयसम्बद्ध क्याम्पसहरु खुलेका हुन् ।
सुरक्षा सावधानी अपनाएर प्रशासनिक कामहरु असार १ गतेदेखि खुलेपनि प्राध्यापकहरुलाई सार्वजनिक बिदा दिइएको थियो । प्राध्यापकहरुको उक्त सार्वजनिक बिदा पनि अब सकिएको छ ।
क्याम्पसहरुमा पठन–पाठनबाहेकका अन्य कामहरु सुरु भएका छन् ।
लकडाउनको समयमा क्याम्पसहरुले प्राध्यापकहरुलाई ‘भर्चुअल’ कक्षाका लागि प्रशिक्षणसमेत दिएका थिए ।
भर्चुअल कक्षालाई अझै प्रभावकारी बनाउने योजनामा रहेका क्याम्पसहरुले अब स्थगित परीक्षामा विद्यार्थीहरुलाई तयार पार्ने तथा परीक्षा केन्द्रको तयारीमा लागेका छन् ।
परीक्षाको लागि क्याम्पसहरु तयार भएपनि विद्यार्थीको चापका कारण तत्कालको लागि सामाजिक दूरी कायम राखी पठन–पाठन गराउन जोखिमयुक्त नै देखिन्छ ।
यातायात सञ्चालन नहुँदा उपत्यकाबाहिर रहेका प्राध्यापक क्याम्पसमा हाजिर हुनसकेका छैनन् ।
आफू रहेको स्थानबाट नै अनलाइन कक्षा लिइरहेका उनीहरु पनि तत्कालै क्यापसमा उपस्थित हुनसक्ने अवस्था छैन ।
दसैंअगावै रोकिएको परीक्षा सञ्चालन गर्ने त्रिविको योजनाअनुसार सो अवधिसम्म अनलाइन कक्षालाई निरन्तर दिने योजनामा क्याम्पसहरु छन् ।
प्रतिक्रिया दिनुहोस्