
काठमाडौं । केही दिन यतादेखि सरकारी मोटरसाइकलको पछाडी बसेकी युवतीले लगाएको पहिरनको तस्वीर सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
प्रदेश–३–०२–००१ब–१४१२ नम्बरको मोटर साईकलमा सवार चालक युवक र ती युवती दुवै सरकारी जागिरे भएका कारण पछाडीबाट कसैले खिचिदिएको उक्त तस्वीरले यतिबेला ट्वीटरमा बहसको विषय बन्न पुगेको हो ।
सरकारी कर्मचारीले लगाउने ड्रेस र उनीहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको विषय भन्दा पनि ती युवतीले ढाड देखिनेगरी लगाएको पहिरनका कारण सामाजिक संजाल तत्न पुगेको हो ।
सरकारी कर्मचारी भएका कारण ती युवतीले ‘ड्रेस कोड’मा ध्यान दिनुपर्ने र अमर्यादित रुपमा प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भन्दै आलोचना भइरहे पनि सामाजिक संजाल प्रयोगकर्ता र महिला अधिकारवादीहरुले उक्त प्रसगलाई नारी अधिकारसँग जोडेर ट्वीटरमार्फत ब्यङग्यात्मक तरिकाले विरोध जनाइरहेका छन् ।
कतिपयले त ‘मैंले लगाएको लुगाले तपाईंले तपाईं, म र म बस्नें समाजका लागि खड़ा गरेको मर्यादा, संस्कार र पितृसत्ताको पर्खाल भित्र पर्दैन भनें त्यो मेरो समस्या होइन।’ भन्ने जस्ता अभिब्यक्तिहरु दिइरहेका छन् ।
किनकी महिलाको पहिरनलाई सामाजिक मर्यादासँग जोडिएपछि सामाजिक सञ्जालमा यसको विरोध हुन थालेको हो ।
विरोधमा कतिपय महिलाले खुला ढाड देखिएका, खुला ढाडमा विभिन्न नारा लेखिएका तस्वीरलाई प्रोफाइल फोटोसमेत बनाएका छन् । कतिले चित्रकला, उदगार लगायत असहमतिका विभिन्न शैली पछ्याएका छन्।
ट्वीटरमा सपना सञ्जीवनीले महिलाको लुगामाथि हुने अनावश्यक टिप्पणीको विरोधस्वरुप एउटा मिथिला पेन्टिङ राखेकी छन्, जसमा लेखिएको छ, ‘यो मेरो अमर्यादित ढाड, यसमा मेरै अधिकार।’
ट्वीटरमा हेमलता राई मात्र होइन लेखक सावित्री गौतमले पनि महिलाको ढाडबारे प्रश्न उठेपछि सांकेतिक विरोध जनाएका छन् । सावित्राले एउटा तस्वीर पोष्ट गरेकी छिन र त्यहाँ लेखिएको छ–‘मेरो ढाडले तिम्रो मर्यादाको ठेक्का लिएको छैन।’
पत्रकार सेवा भट्टराईले ‘मर्यादित पोशाकका सम्बन्धमा’ भन्दै ट्वीटमा लेखेकि छन, ‘एक पुस्ता अगाडिसम्म ब्राह्मण महिलाले चोलो नलगाई खाना बनाउनु पर्थ्यो। हामी मध्ये कतिपयले त्यस्ता चोलो नलाउने हजुरआमाहरु भेटेका छौं र शायद कतै कुना काप्चामा कोही अझै पनि हुनुहुन्छ कि ?’
आक्रोश, ब्यङ्ग्य र विरोध स्वरुप प्रस्तुत भइरहेका ट्वीट र तस्विरहरुले महिला अधिकारको सवाललाई शसक्त बनाउँदै लगेको बुझन सकिन्छ । पत्रकार बबिता बस्नेतको भनेकी छन्, ‘महिलाले शरीरभरि लुगा लगाउँदा पनि गाली खाने, नलगाउँदा पनि गाली खाने अचम्मको ‘ट्रान्जिसन’ मा रहेछौं हामी। पोशाक भन्ने कुरा आफूलाई जे सहज हुन्छ त्यो लाउने हो। तर तपाईं त्यो पोशाक लगाएर कहाँ जाँदै हुनुहुन्छ ? भन्ने कुराले भने अर्थ राख्छ । औपचारिक र अनौपचारिक स्थान र पोशाक दुवैमा लागू हुन्छ।’
मोटरसाइकलमा सवार युवतीको तस्वीरले महिला र पुरुषको मर्यादाको सीमाका बारेमा गम्भीर बहस सिर्जना मात्र गरिदिएको छैन तस्वीर सार्वजनिक भएपछि मानसिक रुपमा विक्षिप्त रहेको प्रतिक्रिया दिइरहेकी ती युवतीको अधिकारको सवाल पनि शसक्त बनेर आइरहेको छ । कसैको अनुमति विना नै तस्वीर खिच्ने र सामाजिक संजालमा पोष्ट गर्ने अधिकार कसैलाई नभएको प्रतिक्रियाहरु पनि आइरहेका छन् ।
सामाजिक संजालमा ढाडका तस्वीर र लेखिएको ‘मर्यादित ढाड’ ‘अमर्यादित ढाड’को प्रशंगले महिला अधिकार र समानताको बहसलाई चर्काएको छ । सांकेतिक विरोध ब्यापक भएर आएको छ ।
प्रतिक्रिया दिनुहोस्