
अक्कल कुँवर र राजेन्द्र नापित (इमेज)
काठमाडौं, साउन ८ । पटक–पटक फुट्दै र जुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र फेरि विवाद उत्पन्न भएको छ ।
हिन्दुधर्म र राजसंस्थासहितको अन्तरिम विधानअनुसार नै दल दर्ता गर्ने वा नयाँ विधान बनाउने भन्ने विषयमा राप्रपाभित्र विवाद सुरु भएको हो ।
विधानमै सहमति नजुटेपछि बुधबारका लागि तय भएको दल दर्ता प्रक्रिया रोकिएको छ ।
अन्तरिम विधानअनुसार दल दर्ता गर्नुपर्ने अध्यक्ष कमल थापा र एकीकृत पार्टीको नयाँ विधान बनाउनुपर्ने अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी पक्षको अडानका कारण राप्रपा दर्ता प्रक्रिया अन्योलमा परेको हो ।
नयाँ विधान बनाएर दल दर्ताको प्रक्रिया सुरु गर्दा निर्वाचन आयोगले हिन्दुराष्ट्र र राजसंस्था शब्दावलीमा कानुनी जटिलता देखाउनसक्ने भन्दै पुरानै विधानअनुसार दल दर्ता प्रक्रियामा जानुपर्ने थापा पक्षको अडान छ ।
२०७३ सालमा संविधानको विपरीत हुनेगरी हिन्दुराष्ट्र र राजसंस्था राख्न नमिल्ने भन्दै निर्वाचन आयोगले राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछिको दल दर्ताको क्रममा ती शब्द राख्न मानेको थिएन ।
तर, अध्यक्षद्वय राणा र लोहनी पक्षले भने दल दर्ता गर्न पाउने अधिकार संविधानले नै प्रत्याभूति गरेकाले निर्वाचन आयोगले शब्दावलीमा कानुनी जटिलता देखाउन नमिल्ने जिकिर गरेको छ ।
राणा र लोहनी पक्षले पुरानै विधानअनुसार दल दर्ता प्रक्रियामा गए राप्रपामा विलय भएको अर्थ लाग्ने जिकिर गरेको छ । तर, कमल थापा पक्ष भने यो तर्क मान्न तयार छैन ।
थापा नेतृत्वको राप्रपा र राणा र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच गत फागुन २८ गते एकता भएको थियो ।
पार्टी एकताको सहमतिपत्रमा हिन्दुराष्ट्र र राजसंस्थासहितको तत्कालीन राप्रपाको विधानलाई नै अन्तरिम विधानका रुपमा स्वीकार गर्ने उल्लेख थियो ।
दुवै पक्षका नेताहरुले दल दर्ता प्रक्रियामा देखिएको प्राविधिक समस्या छिट्टै समाधान हुने जिकिर गरेपनि पार्टीभित्र एकताको बेला भएको सहमतिपत्रमै विवाद भएपछि फेरि विभिन्न आशंका उत्पन्न भएका छन् ।
प्रतिक्रिया दिनुहोस्