१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली बजारमा सुनको मूल्य एक वर्षको अवधिमै साढे ३४ हजारले वृद्धि


26
Shares

gold china

नारायणी लामिछाने र सुन्दर गुरुङ (इमेज)

काठमाडौं, साउन ८ । कोरोना संक्रमण र चीन र अमेरिकाबीचको द्वन्द्वको असर नेपाली सुन–चाँदी बजारमा समेत देखिँदै आएको छ । स्थानीय बजारमा सुनको मूल्य एक वर्षको अवधिमै ३४ हजार ५०० रुपैयाँले बढेको छ ।

जसकाकारण बजारमा सुन खरिद गर्नेभन्दा बिक्री गर्ने ग्राहक बढी आएको व्यवसायी बताउँछन् ।

अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्यवृद्धिको गति रोकिन अझै केही समय लाग्ने व्यवसायीहरुको आँकलन छ ।

कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र प्रभावित हुँदा र अन्तर्राष्ट्रियस्तरमा चीन र अमेरिकाबीचको दबाबका कारण पनि सुनको मूल्य निरन्तरजसो उच्च दरले उकालो लाग्दै गएको छ ।

बिहीबार स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० मा कारोबार भयो ।

एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ३४ हजार ५०० ले बढेको हो । अघिल्लो वर्षको साउन ८ गते सुन प्रतितोला ६० हजारमा कारोबार भएको थियो ।

विगत एक वर्षकै अवधिमा चाँदीको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा चाँदी प्रतितोला ७३५ मा कारोबार भइरहेको थियो । अहिले तोलाकै ११ सय ४५ मा कारोबार भइरहेको छ ।

विश्व बजारको अवस्था र कोरोनाकै कारण पनि सुनको मूल्य अझै बढ्नसक्ने प्रक्षेपणसमेत गरिएको छ ।

अमेरिका र चीनबीच भएको द्वन्द्वका कारण पनि सुनको मूल्य बढिरहेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष्य तेजरत्न शाक्य बताउनुहुन्छ ।

‘लकडाउन’का कारण मानिसको आवत–जावत कम हुनु, अन्तर्राष्ट्रियस्तरमा द्वन्द्व सिर्जना हुनु आदिले लगानीकर्ता सुनप्रति आकर्षित हुँदा पनि बजारमा मूल्य बढेको शाक्यको भनाइ छ ।

कोरोना संक्रमणको त्रासले उपभोक्ता बजार पुग्न नसक्दा र मूल्य आकासिँदा कारोबार भने प्रत्यक्ष प्रभावित भएको छ । प्रायःजसो सुनचाँदी पसल अहिले खाली देखिएका छन् ।

लकडाउन सुरु भएपछि बजार जेठ २५ मा खुल्दा सुनको मुल्य १० हजारले बढेको थियो । त्यसपछि बजारमा सुन किन्न आउनेभन्दा बिक्री गर्न आउने ग्राहकको संख्या बढेको व्यापारीहरु बताउँछन् ।

मूल्य बढेकै कारण सुन बिक्री हुने समयमा समेत कारोबार न्यून रहेको उनीहरुको भनाइ छ ।

यो समयमा सुनको मूल्यवृद्धि हुँदा बैंकमा भएको सुनसमेत प्रयोगमा आउन नसकी थुप्रिएर बसेको र उपभोगसमेत घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भिडियो हेर्नुहोस्