१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चालु आवको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण


0
Shares

काठमाडौं, साउन ९ । विश्व बैंकले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्रै रहने प्रक्षेपण गरेको छ ।

बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ र त्यसको संक्रमणको जोखिमबाट जोगिन गरिएको ‘लकडाउन’बाट समस्यामा परेको अर्थतन्त्रलाई थप आर्थिक गिरावटबाट जोगाउन गरिएको प्रयासका बाबजुद् आर्थिक वृद्धि न्यून हुने जनाएको हो ।

सरकारले चालेका प्रयत्नका बाबजुद् देशको अर्थतन्त्रलाई संक्रमणको अस्थिरताबाट राहतको चरण हुँदै पुनःसंरचनामार्फत् पुनरुत्थानशीलतातिर डोर्‍याउँदै दिगो र समावेशी वृद्धिको पथमा लैजान सरकारले रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने विश्व बैंकको भनाइ छ ।

बैंकको प्रतिवेदनकाअनुसार यस वर्ष पर्यटन क्षेत्रमा कममात्रै आर्थिक क्रियाकलाप हुनेछ र विप्रेषणको प्रवाह पनि औसत रहनेछ ।

आपूर्ति शृंखलामा भएको अवरोधले औद्योगिक र कृषि उत्पादनमा कमी आउने, न्यून आर्थिक क्रियाकलाप र इन्धनको मूल्यका कारण आयात पनि कम र संकटपूर्वको अवस्थाभन्दा पनि निम्न तहमा पुग्ने बैंकले उल्लेख गरेको छ ।

चालु घाटा कुल गार्हस्थ्य उत्पादनको ६.५ प्रतिशतले साँघुरिने अनुमान गर्दै कम आयातका कारण राजस्व संकलन पनि सीमित हुने जनाएको छ ।

चालु आवको बजेटमार्फत् घोषणा भएका भन्सार दर समायोजनजस्ता विविध वित्तीय पहलले राहत र पुनरुत्थानमा बढेको खर्च धान्न टेवा पुग्ने अपेक्षा गर्न सकिने बैंकको ठहर छ ।

यस्तै, वित्तीय घाटा सिमान्तकृतरुपमा घटेर कुल गार्हस्थ्य उत्पादनको ६.६ प्रतिशत रहने अनुमान छ ।

प्रतिवेदनले स्वास्थ्य, सामाजिक र आर्थिक सहायता तथा अन्तरसम्बन्धित प्राथमिकताअनुरूप दिगो वित्तीय स्थायित्व तथा डिजिटल र हरित अर्थतन्त्रसहितका चार स्तम्भलाई आधार मानेको छ ।

डिजिटल सेवाको पहुँच विस्तार गर्न र ई–सेवा प्रवर्द्धन गर्ने पूर्वाधार विकासका लागि सान्दर्भिक लगानी र सुधार आवश्यक रहेको बैंकले जनाएको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले संकटपछिका समयमा अझ बलियो भएर उदाउन नेपालले उदयीमान वास्तविकतालाई आत्मसात् गर्नु जरूरी रहेको बताउनुभयो ।

उहाँले सुरुआती चरणमा नेपाल सरकारले राहत, पुनःसंरचना र पुनरुत्थानका लागि गरेका प्रयासले आफूहरु उत्साहित भएको र अर्थतन्त्रलाई थप स्तरीय बनाउन अन्य बहुपक्षीय विकास बैंक र विकास साझेदारसँग सहकार्य गर्न प्रतिबद्घ रहेको उहाँको भनाइ छ ।