१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धरानका तीन हजारभन्दा बढी परिवार बाढीको जोखिममा


0
Shares

dharan flood

आरपी आचार्य (इमेज)

धरान, साउन १० । अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण सुनसरीको धरान उपमहानगरपालिकाका तीन हजारभन्दा बढी घर–परिवार बाढीको उच्च चपेटामा परेका छन् ।

अव्यवस्थितरुपमा धरानका विभिन्न खोला किनाराको जग्गा ओगटेर बसोबास गर्दै आएका २६ सुकुम्बासी बस्तीका तीन हजार बढी घर–परिवार बाढीको उच्च जोखिममा परेका छन् ।

वर्षात्का कारण धरानको सेउती, सर्दु, अधेरी, शेहरा र अन्य दर्जन बढी खहरेखोला किनारामा बसोबास गर्दै आएका तीन हजार बढी घर–परिवारहरु बाढीको उच्च जोखिममा परेका छन् ।

खोलाको छेउमा आड लिएर घर बनाएका कारण वर्षेनि धरानका खोलाछेउका बस्ती उच्च जोखिममा पर्दै आएका छन् ।

धरानका नौलो बस्ती, लोकतान्त्रिक बस्ती, सुनौलो बस्ती, गैरी टोल, सगरमाथा टोल, गणतन्त्र बस्ती, ललित टोल, वीरनारायण मार्ग, सिर्जना बस्ती, खोरिया बस्तीलगायतका तीन हजार बढी घर–परिवार बाढीको उच्च जोखिममा परेका हुन् ।

२०६३/०६४ को जनआन्दोलनपछि धरानमा खोला किनाराको बगर ओगटेर पाँच हजारभन्दा बढीले घर बनाइ अव्यवस्थितरुपमा बसोबास गर्दै आएका छन् ।

जथाभावी खोला अतिक्रमण गरी निर्माण गरिएका बस्ती वर्षात्को समयमा वर्षेनि उच्च जोखिममा पर्ने गरेका छन् ।

निर्वाचनका बेला यिनै सुकुम्बासी बस्तीहरुलाई व्यवस्थित गर्ने वचन दिएर चुनाव जितेका जनप्रतिनिधिहरु चुनाव जितेपछि बस्तीमा नै आउन छाडेको पीडितहरुको गुनासो छ ।

सकारले सुकुम्बासी बस्ती व्यवस्थापनमा चासो नदेखाउँदा हजारौं सुकुम्बासीहरु बाढी आएको समयमा त्रासमा बस्न बाध्य भएका छन् ।

धरानका सुकुम्बासी बस्तीहरु बाढीको जोखिममा परेपछि प्रदेश नम्बर–१ का सांसद भीम आचार्य र उमिता बराइलीसहितका जनप्रतिनिधिहरुले स्थलगत निरीक्षणसमेत गरेका छन् ।

सांसद भीम आचार्यले धरानका खोला आसपासका बस्तीहरुको दीर्घकालीन समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ ।

धरानमा खोला किनाराको जग्गा ओगटेर अवैधरुपमा बस्ती बसाउनेहरुमा राजनीतिक पार्टीहरु नै सक्रिय छन् ।

धेरैजसोले वर्षेनि खोला किनाराको जग्गा ओगटेर बस्ती बसाउँदासमेत धरान उपमहानगरपालिकाले सरकारी जग्गाको संरक्षण गर्न सकेको छैन ।

धरानका सुकुम्बासीहरुलाई व्यवस्थित गर्नका लागि घर नम्बर वितरण सुरु गरेको भएपनि बस्ती व्यवस्थापनमा भने चासो नदेखाएको स्थानीयको आरोप छ ।

भिडियो हेर्नुहोस्