
मीरा बस्नेत (इमेज)
काठमाडौं, साउन १० । नेपालका विभिन्न कालखन्डमा राजनीतिक व्यवस्था परिवर्तनका लागि आमनागरिकले गरेका संघर्ष कम महत्वपूर्ण छैनन् ।
आमनागरिकको बलमा निरंकुश व्यवस्था पल्टाएर संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि त्यसको प्रत्याभूति पूर्णरुपमा हुनसकेको छैन ।
२०० वर्ष लामो राजतन्त्रात्मक व्यवस्था ढलेसँगै त्यही राजतन्त्रको स्मरण गराउने नारायणहिटी दरबार परिसरमै निर्माण गरिएको गण्तन्त्र स्मारक त्यहाँबाट हटाउनुपर्ने आवाज फेरि एकपटक उठेको छ ।
राजसंस्थाको अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटी परिसरबाट हटाउनुपर्ने माग सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको छ ।
नेता नेपालले यसअघि पनि गत माघ २२ गते बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा गण्तन्त्र स्मारक हटाउनुपर्ने माग गर्नुभएको थियो ।
वि.सं २०६८ सालमा तत्कालीन प्रधानमनत्री डा. बाबुराम भट्टराईले शिलान्यास गर्नुभएको गणतन्त्र स्मारक करिब आठ वर्षपछिमात्र निर्माणकार्य सम्पन्न भएको थियो ।
गत वर्ष गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले तामझमका साथ स्मारकको उद्घाटन गर्नुभएको थियो । तर, नेकपाकै नेता नेपालले पटक–पटक स्मारक हटाउनुपर्ने माग गर्दै आएका छन् ।
निमार्णकार्य सुरु भएर सम्पन्न भइसकेपछिमात्र नेता नेपालले नारायाणहिटी परिसरमा गणतन्त्र स्मारक निर्माण गर्नु गलत भएको तर्क गर्नुभएको छ ।
नारायणहिटी दरबारमा गणतन्त्र स्मारक र संग्रहालय निर्माण गर्नुभन्दा दरबारलाई राजा–महाराजाको पुरानो इतिहासको सम्पूर्ण झलक देखिनेगरी विकास गर्नुपर्ने भन्दै त्यहाँ अरु केही गर्न नहुने उहाँको तर्क छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता नेपालमा फेरि राजतन्त्रप्रतिको मोह जागेको हो कि भन्ने शंका उब्जाएको छ ।
वरिष्ठ नेता नेपालले गणतन्त्र स्मारक सार्नुपर्ने माग गरिरहँदा नारायणहिटी दरबार संग्रहालय भने स्मारकको निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने समय कुरिरहेको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गतको भवन निर्मण विभागले स्मारक नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गरिसकेको छ ।
नारायणहिटी दरबार परिसरको करिब ३५ रोपनी जग्गामा ४५ करोड लागतमा निर्माण गरिएको स्मारकमा चारओटा स्तम्भ निर्माण गरिएको छ । जसले गणतन्त्र प्राप्तिकाक्रममा जीवन अर्पण गरेका, बेपत्ता पारिएका, हराएका र अंगभंग भएकाहरूको झल्को दिन्छ ।
स्मारकमुनिका दुई तलामध्ये पहिलोमा गणतन्त्र प्राप्तिकाक्रममा खिचिएका तस्वीर राखिनेछन् । दोस्रो तलामा नेपालका संविधानसम्बन्धी विभिन्न विषयवस्तु संग्रह गरिनेछ ।
स्मारकमा गणतन्त्र प्राप्तिको संघर्षका श्रव्यदृश्य सामग्री प्रदर्शनीका लागिसमेत कक्ष निर्माण गरिनेछ ।
स्मारकभित्र निर्माण भएको ‘स्टेडियम’मा हरेक शुक्रबार कार्यक्रम गर्ने योजनाअनुसार गृहकार्य भइरहेको नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल बताउनुहुन्छ ।
स्मारकलाई उपत्यकामा बसोबास गर्ने नागरिक र विदेशबाट आउने पर्यटकहरुको प्रमुख गन्तव्यस्थलको रुपमा विकास गरिने संग्रहालयको तयारी छ ।
२४० वर्ष लामो राजसंस्था हटेर नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको पनि एक दशकभन्दा बढी समय भएको छ ।
मुलुकको राजनीतिक व्यवस्था परिवर्तनका लागि ज्यानको बलिदानी दिनेहरुको सम्मानस्वरुप सरकारले निर्माण गरेको गणतन्त्र स्मारक अझैपनि पूर्णरुपमा सञ्चालन हुनसकेको छैन ।
तर मुलकको राजनीतिक व्यवस्था परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरुले नै राजसंस्थाको झल्को दिने संरचना र संस्थाहरुलाई नै पुनः चलायमान बनाउनुपर्छ भन्नु दुःखद् हो ।
प्रतिक्रिया दिनुहोस्