५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


नदी किनारमा दाउराका लागि ज्यानको बाजी(भिडियो)


0
Shares

हरि शर्मा/ईमेज
पश्चिम नवलपरासी । नारायणी नदीमा बगेर आएका काठ दाउरा लिन जाने क्रममा पश्चिम नवलपरासीमा दुई जना बेपत्ता भए ।

हप्ता दिनको अवधिमा बेवत्ता भएका उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ ।

गाउँकै दुई जना छिमेकीहरुलाई नदीले बेपत्ता बनाएको घटना ताजै भए पनि स्थानीय भने नदीको भेलमा पसेर दाउरा लिन जान छाडेका छैनन् ।

कोही डुंगा लिएर नदीको बीचमा जाने गर्दछन् भने कोही किनारमा बसेर दाउरा छोप्ने गरेका छन् ।

गण्डक बाँधका विभिन्न स्थानमा निर्माण गरिएका ठोकरहरुमा पुगेर ज्यानकै बाजी लगाउँदै काठ दाउरा समात्नु स्थानीयका लागि दैनिकी बनेको छ ।

जंगलनजिक नभएकाले पश्चिम नवलरपरासीको दक्षिणभेगका स्थानीयहरुका लागि खाना पकाउन र अन्य प्रयोगका लागि दाउरा अभाव हुने गरेको छ ।

वर्ष दिनभरीको जोहो गर्न नदीमा बगेर आएका दाउरा संकलन गरेर राख्नुको विकल्प नरहेको स्थानीयको भनाइ छ ।

हरेक वर्ष नारायणीको भेलमा पसेर दाउरा संकलन गर्ने कार्य उनीहरुका लागि परम्परा जस्तै बनेको छ ।

नदीमा बगेर आउने काठ, दाउरा जसले पहिला छोयो उसैको हुने भएकाले भेलको वास्ता नगरी स्थानीय हाम फालेर नदीमा पस्ने गरेका छन् ।

घर प्रयोगका लागि मात्रै होइन केही स्थानीय व्यापारिक उद्देश्यले नदीमा बगेर आएका काठ दाउरा समात्न जाने गरेका छन् ।

एक सिजनमा एक जना व्यक्तिले ५ देखि ८ लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।

वर्षाको समयमा नदीका विभिन्न ठोकरमा करिब ५० देखि ६० लाखसम्मको काठ संकलन गरेर बिक्री गर्ने गरिएको छ ।

तत्कालिन जिल्ला विकास समितिले नदीमा बगेर आएको काठ संकलन गरी बिक्री गर्न लाखौंको ठेक्का लगाउने गरेको थियो ।

स्थानीय तह गठन भइ सकेपछि त्यसलाई खारेज गरिएको छ । नदीमा बगेर आएका ठूला रुख सामात्ने र गोलिया बनाएर बिक्री गर्ने स्थानीयको एक समूह नै अहिले क्रियाशिल छ ।

त्यसरी संकलन गरिएका काठ प्रति क्युफिट २ सयदेखि २ सय ५० सम्म खरिद गरेर स्थानीय काठ मिलमा बिक्री गर्ने गरिएको छ ।

लाखौं रुपैया कमाई हुने भएपछि काठ संकलनका विषयमा स्थानीयबीच झडपसमेत हुने गरेको छ ।

काठ दाउरा सकंलन गर्दा स्थानीय डुबेर वेपत्ता हुन थालेपछि प्रहरीले त्यसमा रोक लगाउने प्रयास गरेको छ ।

तर स्थानीयले अटेर गर्नाले घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस