१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज भारी वर्षाको सम्भावना: पहाडमा पहिरो, तराईमा डुबान हुनसक्ने, सतर्क रहन आग्रह


0
Shares

काठमाडों । आजबाट मौसम सक्रिय हुने भएकाले धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । सोमबार रातिबाट मनसुन न्युनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविदले जानकारी दिएका छन् ।

अरब सगरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले पुनः वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ ।

प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ भने अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार रातिबाट मनसुन सक्रिय रहि केही स्थानमा हल्का र अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले ती स्थानमा पानीको बहाब बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायत प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै तराईमा पानीको अत्यधिक चापले डुबानको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा समेत हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २२ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसबीच रहने छ ।

सूर्योदय आज बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ ।