२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भदौ १५ बाट पठनपाठन सुरु गर्ने सरकारको तयारी, क्वारेन्टिन हटाएर सरसफाइ थालियो


0
Shares

काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न अनुमति दिएसँगै विद्यालयहरुले पठनपाठनको पनि तयारी सुरु गरेका छन् ।

जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर भदौ १५ गतेदेखि नियमित पठनपाठनको तयारी थालिएको हो ।

कतिपय विद्यालयहरुमा रहेका क्वारेन्टिनहरु हटाएर सरसफाइ गरेर संक्रमणरहित बनाउन थालिएको छ ।

तर साउन महिनाभरको कोरोना महामारीको अवस्थाको विश्लेषण गरेर मात्र यसबारे निर्णय लिइने शिक्षा मन्त्रालयले जनाएको छ ।

भदौको दोस्रो साताबाटै पठनपाठन सुरु भए आगामी चैत वैशाखसम्ममा कोर्ष पूरा गर्न सकिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

चैतमा सामान्यतया शैक्षिक सत्र सकिने भएपनि यस वर्ष विशेष परिस्थितिका कारण वैशाखसम्म लम्ब्याएर भएपनि कोर्ष पूरा गर्ने सरकारको तयारी रहेको छ ।

वैकल्पिक विधिबाट गरिएको पठनपाठनलाई पनि निश्चित मूल्यांकन गरे शैक्षिक सत्र पूरा गर्न सहज हुने सरकारी अधिकारीहरुको धारणा छ ।

तर देशभर निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत कति विद्यार्थी वैकल्पिक शिक्षाको पँहुचमा रहेका छन् भन्ने तथ्यांक भने सरकारसँग छैन ।

यता कोरोना संक्रमण न्यून रहेका स्थानमा भदौको दोस्रो साताबाट शिक्षण संस्था सुचारु गर्ने स्थानीय तहहरुको तयारी छ ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहको परिस्थिति मूल्यांकन गरेर विद्यालय सञ्चालन गर्न आग्रह गरेको बताउनुभयो ।

कोरोना संक्रमण बढ्न थालेपछि सरकारले गत वर्षको शैक्षिकसत्र पूरा गरेसँगै विद्यालयहरु बन्द रहेका छन् ।