
जुम्ला । जुम्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले भन्नुभयो,“प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक कामले यो सफलता प्राप्त भएको हो । अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानि अपनाउन म आग्रह गर्दछु । ”
प्रतिष्ठानले हालसम्म करिव २० जनाको पिसिआर परीक्षण गरिसकेको छ । आइसोलेसनमा बाँकी रहेका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितको सङ्ख्या शून्य भएको प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले बताउनुभयो ।
“शुरु शुरुमा कोभिड कम भए पनि बिचमा बढ्यो । डर घट्यो । जिल्लालाई यो स्थानमा ल्याउन सबै पक्षको सहयोग रहेकाले नतिजा सबैका नेगेटिभ आएको छ । तर परीक्षण दायरा बढाउँदा अझै भेटिन सक्ने भन्दै सबै अझै सजग हुनुपर्छ,” उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्