१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विभिन्न स्थानमा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध


0
Shares

काठमाडौं । भारी वर्षाका कारण तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

पहिरोले सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँची जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीचमै रोकिएका छन् ।

वर्षा नरोकिएकाले पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले बताउनुभयो ।

यता ३ दिनदेखि गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड पनि अवरुद्ध भएको छ ।

शनिवार जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को कालिगण्डकी करिडोर अन्तर्गत खोपा भन्ने स्थानमा ठूला चट्टानसहित पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

पहिरो हटाउन स्काभेटरहरु प्रयोग गरिए पनि पानी परिरहेकाले समस्या परेको छ । सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

ठूला ढुंगासहित पहिरो खसेकाले तुरुन्त सडक खुलाउन समस्या पर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

अविरल वर्षाका कारण गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिमयुक्त र अवरुद्ध बनेका छन् ।