
काठमाडौं, साउन १२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेका कामको आलोचना गर्नेहरुलाई ‘आँखामा मोतियाविन्दु लागेका व्यक्तिको’ संज्ञा दिनुभएको छ ।
सोमबार वीर अस्पतालको १३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री ढकालले उक्त टिप्पणी गर्नुभएको हो ।
कुल संक्रमितमध्ये ७० प्रतिशत व्यक्तिलाई निको बनाइ घर पठाइसकेको अवस्थामा पनि कोरोना नियन्त्रण गर्न सरकार असफल भएको भन्ने टिप्पणी गर्नेलाई आँखामा मोतियाविन्दु नलागेको भनेर कसरी मान्ने ? भनी उहाँले प्रश्न गर्नुभयो ।
समुदायमा संक्रमण छ कि भनेर ‘टर्च बाली–बाली’ संक्रमितहरुलाई खोजेर उपचारको दायरामा ल्याएकोसमेत मन्त्री ढकालले दाबी गर्नुभयो ।
यस्तै, वीर अस्पतालको सुधार गरी सेवा विस्तार गराउन र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको पनि उहाँले बताउनुभयो ।
स्वास्थ्य राज्यमन्त्री नवराज राउतले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तार योजना अगाडि बढाउन नसकिएकाबारे अस्पतालले मन्त्रालयलाई जानकारी नै नगराएको बताउनुभयो ।
अस्पताल विस्तारका लागि ५६५ रोपनी जमिन छुट्ट्याएको चार वर्षसम्म पनि विस्तार हुन नसेकेको कुरा बाहिरबाट थाहा पाउनुपर्ने अवस्थाप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
स्वास्थ्यसचिव लक्ष्मण अर्यालले अबको केही दिनभित्र जनशक्ति व्यवस्थापन र उपकरणको परिपूर्ति गराउने कुरा मिलाउनसमेत अस्पतालाई आग्रह गर्नुभयो ।
यस वर्ष अस्पतालले २५ करोड आम्दानी गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्