१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरिता गिरी ‘आउट’पछि सांसदमा लीला सिटौला ‘इन’


0
Shares

politics

काठमाडौं, साउन १२ । जनता समाजवादी पार्टीकी तत्कालीन प्रतिनिधिसभा सदस्य सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा लीला सिटौला निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको सिफारिसमा गिरीको स्थानमा रिक्त रहेको सांसद पदमा सिटौलालाई निर्वाचित गरेको घोषणा गरेको हो ।

समानुपातिकतर्फबाट निर्वाचित सांसद गिरीलाई पार्टीको ‘ह्विप’ उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले निष्कासन गरेपछि रिक्त रहेको उक्त पदमा समानुपातिकतर्फ खस–आर्य समूहमा सिटौलालाई सांसद चयन गरिएको हो ।

नेपालको अद्यावधिक नक्साअनुसार निशान छाप परिवर्तन गर्नका लागि भएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न पार्टीले दिएको निर्देशनको अवज्ञा गरेको भन्दै गिरीलाई जनता समाजवादी पार्टीले सांसदबाट हटाएको थियो ।

गिरीले आफूमाथि पार्टीले गरेको कारबाही अवैधानिक भएको भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेशको लागि रिट दायर गर्नुभएको थियो ।

तर, आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि गिरीको स्थानमा सांसद निर्वाचित गर्न बाटो खुलेको हो ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिटौलालाई सभामुखले शपथग्रहण गराउनुहुनेछ ।